विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुईजना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
चिकित्सा शिक्षासम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक सञचालन गरी चेकजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको श्री राम पाइल्स क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानीगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा नगरपालिका ३ गछियाचौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञचालक भारत दार्जिलिङ देवीगन्ज ग्राम पन्चायतका २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
उनीहरुले विगत केही समयदेखि आफू चिकित्सक भएको बताउँदै अवैधरुपमा क्लिनिक सञ्चालन गर्दे आएका थिए । यसरी अवैधरुपमा क्लिनिक सञ्चालन गरी आम नागरिकहरुको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामग्रीसहित पक्राउ गरेको तथा मेडिकल काउन्सिलसँग समन्वय गरी इलाजतसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।