धरानः अलग अलग स्थानमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका-५ मा सोमबार राति ११ बजेतिर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१०प ६८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१५ का २४ वर्षीय रत्नेश धाडेवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको जनाइएको छ । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
उता मोरङको उर्लाबारी नगरपालिका-८ अठियाबारीस्थित भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प १६०० नम्बर र विपरीत दिशाबाट आउँदै गरेको मे७प ६३७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर ६३७१ नम्बरको मोटरसाइकलका चालक मोरङको गोविन्दपुरका ४५ वर्षीय गणेश सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा साँझ ७ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार दुर्घटनामा १६०० नम्बरको मोटरसाइकलको पछाडि सवार २९ वर्षीय आकाश लिम्बू घाइते भएका छन् । गम्भीर अवस्थाका उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै दुवै मोटरसाइकल र १६०० नम्बरको मोटरसाइकलका चालक उर्लाबारी–९ का ३२ वर्षीय योजिनकुमार गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार सडकमा गलत लेन प्रयोग गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको पाइएको छ ।
यस्तै, झापाको बाह्रदशी गाउँपालिका ५ सुवास टोलस्थित भित्री कच्ची सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ६०१० नम्बरको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी-५ बस्ने टयाक्टरका सहचालक वर्ष २७ को बाबुराम हेमरन रहेका छन् । टयाक्टरबाट खसेपछि उनलाई चक्काले किच्न पुगेको प्रहरीले जनाएको छ । चक्काले किचेर गम्भीर घाइते बनेका उनको बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र त्यहाँ पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टयाक्टर चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कच्ची सडकमा चालकले ध्यान नदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।