Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा देउवाले भने- लोकतन्त्र र संविधान जोगाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्छ

हाम्रो कोशी आवाज
बैशाख २१ २०७९, बुधबार
विराटनगरमा देउवाले भने- लोकतन्त्र र संविधान जोगाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्छ

विराटनगरः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधवार उनले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याए ।
उनले आफूले खाएपनि अरुलाई धोका नदिने गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले योपटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको पनि बताए ।
‘यसअघि पनि पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिनँ,’ देउवाले भने, ‘तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेशसहित गठबन्धनका उम्मेदवारले अत्याधिक मतले जित्नेछन् ।’ देउवाले गठबन्धनमा इमान्दार भएर मतदान गर्न आग्रह गर्दै कांग्रेसले प्रतिबद्धता जनाएपछि कसैलाई पनि धोका नदिने गरेको जिकिर गरे ।
देउवाले नागेश र गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताए । देउवाले भने, ‘दुवैजना युवा हुनुहुन्छ, दुवैजना पढेलेखे र विराटनगरका लागि केही गरौं भन्ने सोच छ उहाँहरूमा । त्यसो भएकाले उहाँहरूलाई भोट माग्न म तपाईंहरूको माझ आएको हुँ । नेकपा एमालेको दम्भ र घमण्डलाई परास्त गर्न कांग्रेससहितका गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा उनको जोड थियो ।
सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यस्तै नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र संघको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए । ‘स्थानीय तहमा कांग्रेसले जितेन भने आगामी प्रदेश र संघको चुनाव जित्न निकै गाह्रो हुन्छ,’ कोइरालाले भने, ‘त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर कांग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।’
त्यस्तै, सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताए । एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भने । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए । त्यस्तै नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, विराटनगरका मेयरका उम्मेदवार कोइराला, उपमेयरका उम्मेदवार यादवलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: बैशाख २१ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend