धरानः धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन् ।
आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिरसिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन् ।
माओवादीले धरान–२ को अध्यक्षमा कांग्रेसलाई सघाएपछि गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंहको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधवगोविन्द श्रेष्ठ विजयी भएकाले कांग्रेसलाई सहज स्थिति थियो । गठबन्धन भएपछि अब सुधिरसिंहको सिधा प्रतिस्पर्धा एमालेका रमेश राईसँग हुनेछ ।

वडा २ देशीलाइनमै हुर्किएका सुधीरसिंह वडाका युवाहरूका लोकप्रिय अगुवा हुन् । स्थानीय व्यवसायीहरूसँग सहयोगी अभिभावकको रूपमा उनी परिचित छन् । देशीलाइनको फराकिलो सडकसहित आधुनिकीकरण, भौडीचौकलाई पार्कको रूपमा विकास गर्ने कार्यमा सुधीरसिंहको महत्वपूर्ण भूमिका रहेकाले वडामा उनको युवा समाजसेवीको छवि रहँदै आएको छ ।
धरानको खानेपानी समस्यामा सबैभन्दा ठूलो मारमा परेका वडा २ भएको उनको भनाइ छ । बसपार्क र धरानको मुटु नै भएकाले यहाँको होटेल, रेष्टुरा, व्यापार, व्यवसायको लागि खानेपानीको सबैभन्दा ठूलो मारमा पर्दै आएकाले वैकल्पिकरूपमा खानेपानी उपलब्ध गराउन नियमित वडाकै ट्याङ्करको व्यवस्था गर्ने सुधीरसिंहको प्रतिबद्धता छ । वडामा खानेपानीको मौज्दात राख्न खानेपानी उपयुक्त स्थानमा ट्याङ्की बनाउने योजनामा पनि उनको छ ।
भानुचौक, देशीलाइनको व्यवसायलाई व्यवस्थित गर्ने, सोही ठाउँमा बसपार्क, ट्याक्सी, ट्याम्पो सफारीको पार्क, स्ट्यान्ड सार्वजनिक शौचालय भएकोले वडा २ ले त्यहाँका सुरक्षा, सरसफाइ र उचित व्यवस्थापनको चुनौतीसँग सामना गर्दै आएको छ । चौतर्फी सवारी सञ्चालनलाई व्यवस्थित गर्न प्राविधिक पनि प्रयोग गर्न जरुरी भएको बताउँदै उनले भने ‘भानुचौकमा ट्राफिक लाइटको व्यवस्था नगरी नहुने देखिएकोले त्यसमा पनि मेरो प्राथमिकता हुनेछ ।’