धरानः दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
धनकुटामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका ३ बस्ने ३८ वर्षीय इन्द्रबहादुर याक्खा रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँगुरीगढी गाउँपालिका ३ सल्लेनी डाँडास्थित कुशेटार–डाँडाबजार भित्री कच्ची सडक खण्डमा कुशेटारबाट डाँडाबजारतर्फ आउँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । सडकबाट अन्दाजी ५०० मिटर तल खस्न पुगेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता बिहीबार राति साढे ८ बजे झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङगा पुल छेऊ पूर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ९०७९ नम्बरको गोलिया लोड डिब्बा ट्रक अचानक पछाडिको दाहिनेपट्टिको दुवै चक्का पम्चर भई बनाउँदै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको को२३प ४०४७ नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी–७ बस्ने वर्ष ५६ को बुद्धकान्त सुवेदी गम्भीर घाइते बनेका थिए ।
उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक सुन्दरहरैंचा–६ बस्ने वर्ष ३१ को हर्कबहादुर दर्जी इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गति साथै अँध्यारोका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–१ धरान उच्च माविको अगाडि कोशी राजमार्गमा दुर्घटना हुँदा एकजना महिला घाइते भएकी छिन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र.१–०२–०४१प.४५६ नम्बरको मोटरसाइकलले पैदलयात्री धरान–९ बस्ने ७३ वर्षीया चन्द्रमाया कटुवाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
महिलाको दुवै खुट्टा फ्याक्चर र टाउको मा चोट लागेको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक धरान–१५ बस्ने २१ वर्षीय अनिष चौधरी इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।