भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–१४ बिहीबारे बजारमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।
उनका बुबाआमा दुवैजना जलेर घाइते भएका छन । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पूर्णरुपमा जलेर नष्ट हुँदा उनकी २ वर्षीया छोरी रेश्मा तामाङ आगोले जलेर घटनास्थलमै नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरधनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाइते भएको र उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
आगो फस्ट राइफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागीबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ ।