धरानः धरान-१ स्थित धरान मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा–५ बाट ११ जना र अपर केजी अर्थात् युकेजीका २६ जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, मन्टेश्वरीका डाइरेक्टर दीपक अग्रवाल, प्रिन्सिपल मैया अग्रवाल (राई) ले उनीहरुलाई दीक्षित गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।
उनका अनुसार यो युकेजीसम्मको १५ औं र प्राथमिक तहको दोस्रो दीक्षान्त समारोह भएको प्रिन्सिपल अग्रवालले बताइन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेयर राईले धरान शैक्षिक हब भएको बताए । उनले विद्यार्थीले कार्यक्रममा देखाएको प्रतिभा तारिफयोग्य र लोभलाग्दो रहेको बताए । उनले बालबालिकाले सिक्ने शिक्षा भनेकै व्यवहारिक ज्ञान, संस्कार, संस्कृतिलगायतका कुराहरु नै रहेको बताए ।
कार्यक्रममा बोल्दै डाइरेक्टर अग्रवालले मन्टेश्वरीमा अध्यापनरत मिहिनेती शिक्षक, कर्मचारी साथै हौसला, सल्लाह, सुझाव दिनुहुने अभिभावककै कारण मन्टेश्वरीले फड्को मारेको बताए । कार्यक्रममा विद्यार्थीहरूले नेपाली तथा अन्य भाषाको गीतमा नृत्य देखाएर अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
२०६२ सालमा स्थापना भएको सो मन्टेश्वरी धरानको पुरानो मन्टेश्वरी हो । मन्टेश्वरीले मन्टेश्वरी पद्दतिमा जोड दिँदै पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको प्रिन्सिपल मैयाले बताइन् । उनले बालबालिकालाई बढीजसो व्यवहारिक र आत्मनिर्भरतर्फ उन्मुख शिक्षा दिइँदै आएको बताइन् । कक्षा–५ सम्म अध्ययन अध्यापन हुने मन्टेश्वरीमा ६ वर्षभन्दामुनिका बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर अध्ययन गराउँदै आएको उनले बताइन् । यही उमेर बालबालिकाको लागि मानव विकासको पहिलो तह मानिन्छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज































