धरान-१२ स्थित चतरालाइनमा भर्खरै सञ्चालनमा आएको होटल गोर्खा र दलका नेता, कार्यकर्ताले थन्क्याएका सवारी साधन । तस्वीरः हाम्रो कोशी आवाज
धरानः धरानमा आसन्न स्थानीय तह निर्वाचनका लागि अहिले चुनावी अभियान तीब्र भइरहेको छ ।
नेताहरु टोल, टोल, गल्ली, गल्ली, चोकचोक पुग्ने क्रम जारी छ । जताततै उम्मेदवारहरू जनताको मन जित्न घर–घर धाइरहेका छन् । मतदानको दिन आउन ८ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू धपेडीमा छन् । मतदानको दिन बैशाख ३० जति नजिकिँदो छ, उम्मेदवारहरूको ढुकढुकी उत्तिकै बढ्दो छ ।
चुनावी चहलपहल बढेसँगै अहिले व्यापार पनि फस्टाउन थालेको छ । विभिन्न क्षेत्रको व्यापार ह्वात्तै बढेको व्यवसायीहरुले बताएका छन् । दलहरु दौडिएसँगै व्यापार व्यवसाय ह्वात्तै बढेको पाइएको हो ।
मानिसहरुको चहलपहलसँगै यहाँका ब्यापार ब्यवसाय बढेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिए । उनका अनुसार जुनसुकै व्यवसाय पनि निर्वाचनले गर्दा बढिरहेको र यसले आर्थिक पाटोमा सकारात्मक प्रभाव पारिरहेको छ ।
होटल, मदिरा तथा पेय पदार्थका पसल, सिटी सफारी साथै छापाखानाको पनि व्यवसाय बढेको व्यवसायीले बताएका छन् । ‘अहिले राजनीतिक दल, उम्मेदवारले खर्च गर्न थालेका छन्’, धरानका एक व्यवसायी भन्छन्, ‘त्यसैले पनि व्यापार, व्यवसाय बढ्न थालेको छ ।’
निर्वाचनको माहोल तातेसँगै होटलहरुमा भीड बढ्न थालेको होटल स्टार पूर्वीका सञ्चालक केपी पालुङ्वा बताउँछन् । ‘राजनीतिक दल तथा उम्मेदवारहरुले होटलहरुमा नै मिटिङ तथा छलफल राख्न थालेकोले कोरोनाले थलिएको व्यवसायमा अहिले केही सहज भएको छ ।’ उनी भन्छन् । उनले निर्वाचनले व्यापार व्यवसायमा सकारात्मक नै प्रभाव पारेको बताए । ‘नेता तथा कार्यकर्ताको आवतजावतले गर्दा व्यवसाय बढेको छ’, उनले भने, ‘यसलाई सकारात्मकरुपमा लिनुपर्दछ ।’ बाँकी समेत गर्ने गरेकाले यसमा भने समयमा नै सचेत हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

छापाखाना र कपडाको व्यापार पनि बढ्यो
सबैभन्दा धेरै भ्याइनभ्याइ छापाखानाहरुलाई भएको छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुको प्रचार सामग्री बनाउनका लागि अर्डर धेरै आएको हाँरती माँ अफसेट प्रेसका सञ्चालक विमल शाक्य बताउँछन् । ‘दलैपिच्छे बेग्लाबेग्लै प्रचार सामग्री आदिका कारण अहिले छापाखाना व्यवसाय पनि फस्टाएको छ’, उनले भने, ‘मेरोमा मात्रै होइन धरानका अधिकांश छापाखाना व्यवसायी अहिले व्यस्त छन् ।’
यसैगरी फ्लेक्स प्रिन्टहरुमा पनि अहिले भ्याइनभ्याइ नै हुने गरेको पाथिभरा फ्लेक्सका सञ्चालक भोला श्रेष्ठ बताउँछन् । ‘धरानमा जति पनि फ्लेक्स व्यवसायी छन् उनीहरुको व्यवसाय राम्ररी नै अघि बढिरहेको छ ’, उनले भने । उम्मेदवारहरुले ठाउँठाउँमा तुल बनाएर टाँङ्नका लागि फ्लेक्स प्रिन्ट बनाउने गरेका छन् ।
यस्तै, दलहरुले युवालगायतको आकर्षणका लागि टिसर्ट बनाउँदा कपडाको व्यवसाय बढेको व्यवसायी बताउँछन् । धेरै दलले झन्डालाई प्राथमिकता दिँदै आएका छन्, यसले पनि व्यवसाय बढेको व्यवसायीहरु बताउँछन् ।

यस्तै, सिटी सफारी, टेम्पोलगायतको माग बढेको टेम्पो चालक दीपेन राईले जानकारी दिए । ‘सधैं कोही टेम्पो चढ्छन् कि भनेर कुरेर बस्नुपर्दथ्यो, उम्मेदवारहरुले चुनावी प्रचारका लागि टेम्पो, सिटी सफारीलगायतको प्रयोग गर्न थाले’, उनले भने, ‘यसले अन्य बेलाको भन्दा निकै धपेडी पनि पारिदिएको छ भने आम्दानी पनि बढ्न थालेको छ ।’
बजारमा खदा, मालालगायतको व्यापार पनि बढेको व्यवसायीले बताएका छन् । धरानमा गर्मी सिजन शुरु भएकोले चुनाव प्रचारमा हिँडेका अधिकांश नेता, कार्यकर्ताले छाता ओढ्ने गरेको पाइएकोले यसको समेत माग बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।
फेसबुकमा बढी प्रचार
सामाजिक सञ्जाल फेसबुकमा दलहरुले बढी प्रचार गर्दै आएका छन् । दर्ता भएका मिडियामा थोरै तर सामाजिक सञ्जाल फेसबुकलगायत अन्यका लागि रकम छुट्याएर प्रमुख, उपप्रमुख, वडाध्यक्षले बेकामे खर्च गरिरहेका छन् । एक दलले करिब ५ देखि १० लाख रुपैयाँसम्म प्रचारका लागि खर्च गरिरहेका छन् । त्यो रकम बिनादर्ताका मिडिया, फेसबुक, सामाजिक सञ्जालमा खर्च भइरहेको पाइएको छ । दर्ता भएका मिडियालाई प्रयोग गर्दा राज्यलाई कर जाने तर फेसबुकलगायतमा प्रचार गरेर प्रयोग गर्दा बेकामे तरिकाले रकम खर्च हुने गुनासो बढ्न थालेको छ ।