धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका छात्रा सर्मिला गुरुङ निबन्धन प्रतियोगितामा प्रथम भएकी छिन् ।
धरान–१२ नम्बर वडाको आयोजनामा सम्पन्न प्रतियोगितामा उनी प्रथम बनेकी हुन् । ‘सबल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम बनेकी गुरुङले नगद २६ सय रुपैयाँसहित कदरपत्र प्राप्त गरेकी छिन् ।
यस्तै, हिमालयन बोर्डिङ स्कुलकी जेनिशा श्रेष्ठ दोस्रो, पब्लिक हाइस्कुलका अभिषेक राई तेस्रो बनेको वडा कार्यालयका कर्मचारी खगेन्द्र रोइलाले जानकारी दिए । त्यस्तै, वडा बाल सञ्जालकी रुविना देवले सान्त्वना स्थान हात पारेको उनले जानकारी दिए । उनीहरुलाई क्रमश २ हजार, १५ सय र १ हजार नगद प्रदान गरिएको थियो ।
विद्यालयमा आधारित बाल क्लबका छात्रछात्रालाई समावेश गरी प्रतियोगिता आयोजा भएको हो । वडा १२ मा रहेका एक सामुदायिकसहित ६ वटा विद्यालयका ७ जना छात्रछात्राबीच प्रतिस्पर्धा भएको थियो । विजेतालाई वडासचिव तथा कार्यक्रमकी अध्यक्ष सुशिला अधिकारी प्रसाईंले नगदसहित कदरपत्र प्रदान गरेकी थिइन् ।
