धरानः पाँचजना दाजुभाइ जो राजनीतिमै सक्रिय छन् ।
सक्रिय बनेकामध्ये दुईजना दाजुभाइले गाउँपालिकाको अध्यक्षमा विजयी बनेर देखाइसकेका छन् । मत परिणामअनुसार धनकुटाको साँगुरीगढी गाउँपालिकामा जितेन्द्र रुम्दाली (राई) र ओखलढुङ्गाबाट उनका भाइ ज्ञानेन्द्र रुम्दाली (राई) ले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट विजयी बनेका हुन् ।
गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुमारजङग याक्खाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । जीतेन्द्रका अनुसार दुई आमाका ५ दाजुभाइ पछिल्लो समय सबै राजनीतिमै सक्रिय रहेका छन् ।
ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका छन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।
दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभन्ज्याङ गाउँपालिकामा जीत हासिल गरेका हुन् । उनीहरूका भाइ दीपेन्द्र रुम्दालीले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी हासिल गर्ने नेपाली कांग्रेसकी आश्राचन राईले ४ हजार ७ सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

















