धरानः धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले मङ्गलबार पदभार ग्रहण गरेका छन् ।
बिहान १० बजे धरान उपमहानगरपालिका प्राङ्गणमा पुगेका उनलाई कर्मचारीहरुले स्वागत गरेका छन् । मङ्गलबार बिहान ठीक १० बजे मेयर साम्पाङ पुग्दा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरु स्वागतका लागि लामबद्ध थिए । एकैछिनपछि मेयरको सवारी भयो । सबैले स्वागत गरे । गर्मी चढेको धरानमा पसिना पुछ्दै कार्यकर्ताको उकुसमुकुस भीडभाडका बीच मेयर साम्पाङ कार्यालय प्रवेश गरेका थिए । उनी प्रवेशपछि वरिपरि कार्यकर्ताले कुर्सीमा बस्नुअघि बधाई दिए । उनी थचक्क कुर्सीमा बसे र निर्णयको पोको फुकाए अनि हस्ताक्षर गरे ।
यसैबीच कर कत्तिको वैज्ञानिक छ भनेर दररेट निर्धारण गर्न अध्ययन टोली गठन गर्ने पहिलो निर्णय भएको छ । अइन्द्रविक्रम बेघाको संयोजकत्वमा सो अध्ययन टोली गठन भएको हो । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष र उनीहरुले तोकेको प्रतिनिधि र सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख र अन्य थप गर्न मिल्ने गरी अध्ययन टोली बनाइने भएको छ ।
कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले धरानलाई ‘पियोर’ उपमहानगरपालिका बनाउने समेत बताए । उनले भ्रष्टाचारमुक्त र सुशासनयुक्त उपमहानगरपालिका बनाउने पनि बताए । उनले धरानस्थित बीपी प्रतिष्ठान सुधार्दै खानेपानीमा पनि सुधार ल्याउने बताए । ‘बीपी प्रतिष्ठान सुध्रिन्छ, खानेपानीबारे सबैले फेल फेल भन्दै आएका छन्, कुन फेजमा के भएर फेल भएको, प्रोजेक्ट किन फेल भयो खोज्छु ।’ उनले आफूलाई जनतालाई पर्ने गरेको पीर मर्काबारे भेट्न चोकचोक साथै वरपीपलको रुखमा भेट्नसक्ने पनि बताए । तस्वीरहरुः लक्ष्मण थापा




















