धरानः सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघको आयोजनामा समाजवादी विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गरेको छ ।
मंगलबार युवा र विद्यार्थीको एक समूहले प्लेकार्डसहितको नाराबाजी गर्दै मूल्यवृद्धिको बिरोध गरेको हो । शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले लगातार मूल्यवृद्धि गरेपछि युवा र विद्यार्थी विरोधमा उत्रिएको हो । शान्तिपथबाट विरोध जुलुस निस्किएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, गरिबमारा सरकार, मूल्य बढाउन पाइँदैन, जनता मार्न पाइँदैन, करको नाममा गरिब मार्न पाइँदैनजस्ता नारा लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीहरु भानुचोकमा आइपुगेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै समाजवादी युवा संघका प्रदेश अध्यक्ष श्री सुब्बाले सरकारले जनतालाई मूल्यवृद्धि गरेर मारमा पारेको बताए । सांकेतिकरुपमा मात्र भएको विरोध मूल्य नघटाए नियन्त्रण नगरे थप आन्दोलन गर्ने उनले चेतावनी दिए ।
धरान नगर युवा इन्चार्ज रवि पाख्रीनले समृद्ध नेपालको सपना देखाएर नेपाली जनतालाई सधै मूल्यवृद्धिको मारमा पारेको बताए । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस इकाई अध्यक्ष युवराज राईले सरकारले मूल्यवृद्धि गरेर नेपाली जनताको ढाड सेकाएको बताए ।
राज्यले बढाएको तेलको मूल्यवृद्धिले खाद्यान्नलगायतमा स्वतः मूल्य बढेर जाने हुनाले यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए ।
कोणसभालाई समापन गर्दै समाजवादी युवा संघ अध्यक्ष करुण राईले सरकारलाई चेतावनी स्वरुप सांकेतिक विरोध मात्र गरेको बताए । पटकपटक मूल्यवृद्धि गरेर जनतालाई बाँच्न नदिएको भन्दै सरकारले नसुने थप आन्दोलनको कार्यक्रम अगाडि बढाउने उनले चेतावनी दिए ।


