धरानः उदयपुरमा एकाबिहानै ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
सोमबार करिब साढे २ बजे उदयपुरको कटारीबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक दुर्घटनामा चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का ३७ वर्षीय राजन तामाङ र १७ वर्षीय अनुज तामाङ रहेको उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
उदयपुर जिल्लाको कटारी–१४ भदौरेमा सो ट्रक दुर्घटनामा परेको थियो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतिर जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गमा दुर्घटनामा परेको हो । चालक निदाएका कारण ट्रक दुर्घटनामा परेको र ट्रक सडकबाट लगभग एक सय मिटरजति तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।