सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सो स्थानमा पेस्तोलसहितका ब्यक्तिहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राति ११ बजे इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ का १९ वर्षीय धनबहादुर राई, २७ वर्षीय टिका राई र इटहरी–५ का २८ वर्षीय धनबहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागूऔषध २४ एम्पुल र मेडइन युएसए लेखिएको पेस्तोल एकथान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागूऔषध तथा पेस्तोलसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।