सुनसरीः सुनसरीमा ट्रिपरको ठक्करले महिलाको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा इटहरी–२० की ५८ वर्षीया कृष्णकुमारी खवास रहेकी छिन् ।
बिहीबार दिउँसो सुनसरीको दुहबी–५ बुढीखोला पुलनजिकै मोटरसाइकलमा सवार उनी र उनको श्रीमानलाई ट्रिपरले ठक्कर दिएको थियो । विराटनगरबाट इटहरी आउँदै गरेको को२८प ८५४४ नम्बरको मोटरसाइकलाई युपी ५७ एटि ३८३७ भारतीय नम्बर प्लेटको ट्रिपरले ठक्कर दिँदा कृष्णकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक ६६ वर्षीय मछिन्द्र खवासको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
मछिन्द्र नेपाली कांग्रेसका नेता समेत हुन् । घटनामा ट्रिपर चालक भारत कोशीनगर बस्ने ४५ वर्षीय मन्नी यादव प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।