विराटनगरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले यसपटक दोस्रो भएपनि आगामी प्रदेश र संसदीय निर्वाचनमा पहिलो बनेर छाड्ने बताएका छन् ।
विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुराको दावी गरेका हुन् । ‘नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्याधिक स्थानमा विजयी गराउँछन् ।’ उनले भने । उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट संख्याका हिसाबले केही कम आएर दोस्रो भएपनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको बताए ।
अध्यक्ष ओलीले नेकपा एमाले दोस्रो पार्टी भएकोलाई सामान्य रूपमा लिएका छन् । ‘६ दल एकातिर एमाले एकातिर हुँदा पनि दोस्रो भएको छ,’ उनले भने, ‘अहिले पनि एमाले पपुलर भोटमा अगाडी नै रहेको छ, आगामी निर्वाचनमा नेकपा एमालेलाई नागरिकले अत्यधिक मतका साथ जिताउने छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए ।
उनले तत्काल वाम गठबन्धनको सम्भावना नभएको समेत बताए । ओलीले कांग्रेस, माओवादी र अन्य के–के दललाई वाम गठबन्धन भनेको हो ? विचार र सिद्धान्त नै नभएका दलहरूलाई वाम गठबन्धन भन्नुको अर्थ नहुने बताए ।