धरानः बराहक्षेत्र–४ मा आपसी विवाद हुँदा एकजनाको हत्या भएको छ ।
चुरोटको विषयमा सामान्य विवाद बढ्दै जाँदा बन्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । बराहक्षेत्रको कौवा खोज भन्ने स्थानमा आइतबार बिहान विवाद चलेको थियो । सो विवादका क्रममा बन्चरो प्रहार गरी १८ वर्षीय देवकुमार धामीको हत्या भएको उनले जानकारी दिए । हत्यामा संलग्न ३० वर्षीय देवराज धामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक देवकुमारको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठानमा राखिएको छ ।