सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पैदलयात्री स्थानीय १८ वर्षीय श्रवणकुमार मेहता रहेका छन् । पश्चिमतर्फ गइरहेको को२च ३९९२ नम्बरको स्कारपियो गाडीले पैदलयात्री मेहतालाइ ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका पैदलयात्री मेहताको उपचारको क्रममा विराटनर्सिङ होममा आइतबार राति ९ः४५ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
स्कारपियोमा सवार रहेका चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भण्टाबारीबाट ५ किलोमिटर पूर्वमा भएको दुर्घटनामा घाइते हुनेहरुमा कोशी गाउँपालिका ७ बस्ने वर्ष २३ को सुवर्ण मेहता गम्भीर घाइते भएका छन् भने स्कारपियो चालक इटहरी–२ बस्ने वर्ष २९ को अर्जुन तामाङ, स्कारपियोमा सवार इनरुवा–६ बस्ने वर्ष ५५ की राधा भट्टराई, वर्ष ६५ को पुण्यराज भट्टराई, रामधुनी–६ बस्ने वर्ष ४२ को नगेन्द्र राई, रामधुनी–५ बस्ने वर्ष ३३ को योगेन्द्र गिरी, इटहरी–३ बस्ने वर्ष २१ को सुमन विक रहेका छन् । दुर्घटनाको कारण तीब्रगति रहेको प्रहरीले जनाएको छ ।