धरानः प्रदेश १ मा दुर्घटना बढ्दै गएको छ । यहाँ दिनहुँजसो दुर्घटना हुने गरेको छ । यसैबीच इलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
इलामको रोङ गाउपालिका–४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउँदै गरेको मे१त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सूर्योदय नगरपालिका–१२ का २९ वर्षीय सागर प्रधानसहित तीनजना घाइते भई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।
यसैगरी झापाको गौरादह नगरपालिका १ सितापुरीस्थित भित्री सडक खण्डमा सोमबार बेलुका ५ बजे मे१त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिँदा घाइते भएका स्थानीय रामप्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुरयाउनासाथ उनको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउँपालिकाका २६ वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।