बिर्तामोडः झापाको झापा गाउँपालिका–३ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे११प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१त ४४१८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक झापा–३ का २० वर्षीय अक्तर अलीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
दिउँसो दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति १० बजेतिर बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । ट्याक्टरको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, बुधबार नै धरान–८ विश्वकर्मा मन्दिरनजिक कोशी लोकमार्गमा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०२–०४८प६८२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक इटहरी–३ बस्ने २९ वर्षीय विजय तामाङ र पछाडि सवार सोही ठाउँका २९ वर्षीय भुपेन्द्र तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको टाउकोमा चोट लागेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सडकमा खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।