ताप्लेजुङ: ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गएराति (बिहीबार राति) झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।
वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । उनी दौडिएर पहिरोभन्दा पर पुगेर बच्न सफल भएका थिए ।
पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ।
अत्याधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठूल्ठूला पहिरो झरेका छन्। केही दिनदेखि ताप्लेजुङका विभिन्न ठाउँमा अत्यधिक वर्षा भइरहेको छ । यसैबीच ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । र बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । थप विवरण आउन बाँकी छ ।