विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
मंगलबार राति साढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा प्रदेश १ –०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ५० वर्षीया विमला खड्कालाई ठक्कर दिँदा घाइते भएकी खड्काको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी मंगलबार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका–११ मा साइकललाई जोगाउने क्रममा को३३प ४२४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलमा सवार रहेकी ३० वर्षीया देवकुमारी श्रेष्ठ घाइते भएकी थिइन् । घाइतेलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका नविनराज राईले जानकारी दिए ।