खोटाङः खोटाङको बाराहपोखरी गाउँपालिका–५ स्थित दूधकोशी नदीको बगरको खाल्डोमा शंकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसँगै कर्तब्य गरी हत्या गर्ने नातिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का २९ वर्षीय हरि भन्ने निरबहादुर खड्का रहेका छन् । गत बैशाख ३१ गते दूधकोशी नदी किनारमा सडी गलिसकेको शंकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुट्टा घर भई हाल इटहरी उपमहानगरपालिका–१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खड्का रहेको भन्ने खुल्न आएसँगै हत्यामा संलग्न रहेका नाति निरबहादुरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका खड्काले हजुरआमा तुलसालाई स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनी बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी–५ स्थित दूधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पक्राउ परेका खड्काको कर्तब्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।