धरानः तेह्रथुमको लाली गुराँस नगरपालिका–१ जिरोप्वाइन्टमा दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लालीगुराँस नगरपालिका ७ की ४६ वर्षीया पवित्राकुमारी मगर रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसन्तपुर–तेह्रथुम पक्की सडक खन्डमा तेह्रथुमबाट बसन्तपुरतर्फ आउँदै गरेको प्रदेश १–०२–००३त २४३ नम्बरको टयाक्टर आफै अनियन्त्रित.भई सडकबाट ५० मिटर तल खस्न पुगेको थियो । दुर्घटनामा चालक लालीगुराँस नगरपालिका ७ बस्ने २२ वर्षीय जयन्द्र लिम्बू र टयाक्टरमा सवार सोही ठाउँका २३ वर्षीय ललितकुमार मगर गम्भीर घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
घाइतेहरुको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार राति करिब ८ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसैबीच कोशी लोकमार्गअन्तर्गत भेडेटार–धरान सडक खण्डमा कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
शुक्रबार करिब साढे ४ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेका बिआर११एभी ९०९९ नम्बरको कारअगाडिको बायाँतर्फको चक्का पन्चर भई अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना हुँदा कार चालक भारत बिहार बस्ने वर्ष २९ को सन्दीपकुमार साह, कारमा सवार सोही स्थानका वर्ष ४५ को सुनिलकुमार साह घाइते भएका छन् ।