इलामः इलामको माङसेबुङ गाउँपालिका २ दह गाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलाम माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।
आइतबार दिउँसो पाँचथरको रविबाट झापाको दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो । बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।