Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१४ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने समातिए

हाम्रो कोशी आवाज
असार १५ २०७९, बुधबार
१४ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने समातिए

फुङलिङ: एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एकजना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । प्रहरीले किन चोरेको ? चोरेको पैसा कसलाई दिने ? केमा प्रयोग गर्छौ ? जस्ता सवालको उत्तर खोज्ने क्रममा भर्खर १४ वर्ष लाग्दै गरेकी एक किशोरी पनि जोडिइन् । तर पीडक नभएर पीडितको रुपमा ।
चोरेको पैसाबाट खाजा खाने समूहकी ती किशोरीलाई केही होटल सञ्चालकले राख्ने र यौन कर्ममा लगाउने गरेको सूचना प्रहरीले पायो । त्यही जानकारीको आधारमा होटल सञ्चालकसहित तीनदिनमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले बताएको छ । ती वृद्ध ग्राहकको रुपमा ती किशोरीसँग यौन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार यो विषयमा जोडिएर हालसम्म तीन होटेल सञ्चालक र तीन ग्राहकसहित ६ जना पक्राउ परेका छन् । अनुसन्धानकै क्रममा रहेकाले पीडकको विवरण समेत गोप्य राखिएको राईले बताए । प्रहरीका अनुसार आरोपीविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको छ । तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको डीएसपी राईले जानकारी दिए ।
प्रहरीका अनुसार यो घटनामा अरु पनि जोडिन सक्ने भएकाले मुद्दा चलाइएकाको विवरण गोप्य राखिएको छ । बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो । सामान्यतयाः एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
आमाको मृत्यु भएको र बाबुले कान्छीआमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर होटलमा भाँडा माझेर गुजारा गर्ने क्रममा होटल सञ्चालकले यौन कार्यमा लगाएको बालिकाले प्रहरीलाई बताएकी छन् । बुबा र कान्छी आमा सदरमुकाम क्षेत्रमै भाडामा बस्छन् ।
बालिकाले कहिलेकहिले तल्लो पेट दुख्ने गरेको, दिशापिसाब गर्दा समस्या हुने जस्ता शारीरिक समस्या हुने गरेको बताएको महिला सेलकी एक प्रहरीले जानकारी दिइन् । जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टले बालिकामा मानसिक समस्या देखिएको छैन । शरीरको अंगमा देखिएको समस्यालगायत विषयमा अस्पतालमा प्राथमिक उपचार भएको छ । अन्य समस्याबारे स्वास्थ्य जाँच गराउने प्रहरी कार्यालयले जनाएको छ ।
१८ वर्षभन्दा कम उमेरका बालिकालाई यौन कार्य गरे जबरजस्ती करणी मानिने कानुनी व्यवस्था छ । त्यस्ता व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिला वा बालिकाको उमेर हेरी सजाय निर्धारण हुन्छ । १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद सजाय हुनसक्ने करणीसम्बन्धी कसुरमा उल्लेख छ । भर्खर १४ वर्ष लागेकी उनलाई १३ वर्षकै उमेरमा यौन कार्यमा लगाइएको उनको प्रारम्भिक बयानमा खुलेको प्रहरीले भनेको छ ।
बालिकालाई प्रयोग गर्ने होटल सञ्चालक तथा यौन कार्यमा सहभागीलाई कडा कारबाहीको आवाज उठेको छ । जिल्ला महिला सञ्जालका सदस्य शिला इजम प्रहरीको कदम प्रशंसनीय भएको र यो अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँछिन् । मानव अधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङका जो कोही संलग्न भए पनि सजायको भागीदार हुनुपर्ने बताउँछन् । उनले कानुनी उपचारको हकमा अधिकारकर्मीबाट हरेक खाले सहयोग हुने बताए ।
सदरमुकामभित्रै बालिकालाई यसरी यौनजन्य कार्यमा लगाउँदा पनि स्थानीयवाट सहयोग नपाएको गुनासो प्रहरीको छ । ‘एउटा घटनाको अनुसन्धानमा अर्को ठूलो अपराधको खुलासा भयो,’ डीएसपी राईले भने, ‘सदरमुकामभित्रै भइरहेको यस्तो गतिविधि छरछिमेक, आसपासकोलाई पक्कै थाहा थियो होला, कसैले सूचनासम्म दिएनन् ।’ प्रहरीले हरेकजसो होटलमा तथ्यांक राख्नेलगायत व्यवस्थापनका लागि छलफल एवं अनुगमन दुवै गर्ने भएको छ ।

प्रकाशित मिति: असार १५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend