Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदीको भेलसँगै वर्षेनी जुध्दै

हाम्रो कोशी आवाज
असार १७ २०७९, शुक्रबार
कोशी नदीको भेलसँगै वर्षेनी जुध्दै

धरानः अविरलको वर्षासँगै आएको बाढीले कोशी नदीको बहाव गाउँतिर फर्किँदा अहिले पनि त्यहाँका जनता शान्तसँग सुत्न पाएका छैनन् ।
बेलका नगरपालिका र बराहक्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । स्थानीयलाई बाढी आएर डुबाउला की भन्ने चिन्ता छ, बाढीले जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका नगरपालिका– ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीब्रता दिएको छ ।
नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयबासी बताउँछन् । कोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्य भागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।
पछिल्लो समय कोशीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । कोशीले धार परिवर्तन गरी कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष चार हजार घरपरिवार उच्च जोखिममा परेका हुन् ।
कोशीमा पानीको बहाव बढेसँगै कटान तीव्ररूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोशीले गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने केही यता आएको बाढीले पुनः थप तीन सय मिटर कटान गरिसकेको छ । थप दुई सय मिटर कटान भएमा कोशीले नयाँ मार्ग बनाएर त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराहक्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए । ‘तत्काल रोक्ने काम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुपम, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने छ,’ उनले भने ।
कटानले गर्दा बराहक्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भइसकेको लिम्बूले बताए ।

प्रकाशित मिति: असार १७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend