धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक बिक्रीबाट आएको पैसा आमाचोक सरोकार समाज सुनसरीलाई हस्तान्तरण गरिएको छ ।
विपन्न बालबालिकाहरुको उपचारमा सहयोग पुरयाउन समाजलाई शुक्रबार हस्तान्तरण गरिएको छ । डा. अरुणकुमारले समाजका अध्यक्ष राजेन्द्र राईलाई रु ५० हजारको चेक हस्तान्तरण गरेका थिए । सो पैसा अति विपन्न परिवारका बालबालिकाको उपचारमा समस्या भएका बेला सहयोग गर्न संस्थालाई हस्तान्तरण गरिएको हो । अरु पैसा थपेर उपचार सहयोग कोष बनाउने योजना रहेको संस्थाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । हस्तानतरण कार्यक्रममा आमाचोक गाउँपालिका भोजपुरका अध्यक्ष अशोक राई, कान्तिपुर दैनिकका शाइमान राई, पुस्तकका सम्पादक देवेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।
आमचोकमा जन्मिए सुनसरीमा बसोबास गर्नेहरुले ४ वर्षअघि स्थापना गरिएको संस्थाले आमोचोक तथा क्षेत्रबाट बीपी प्रतिष्ठानमा उपचार गराउन आएका विपन्नहरुलाई सहयोग गर्दै आएको छ । डा. अरुणकुमारले लेखेको पत्रकार देवेन्द्र कार्कीले सम्पादन गरेको सो पुस्तक ग्रामिण समुदायका बालबालिका तथा उनीहरुका अभिभावकहरुका लागि उपयोगी छ । यसअघि धरान–१७ की जानुका विकलाई पुस्तक बिक्रीबाटै रु पाँच हजार नगद सहयोग गरिएको पुस्तकका सम्पादक कार्कीले जानकारी दिए ।