धरानः धरानबासी पानी खुवाउन अहिले धरानको निशाने खोलामा जनश्रमदान इरहेको छ ।
पकुवा खोलाबाट पानी ल्याउँदा जसरी धराने जनता स्वतःस्फुर्त श्रमदानमा जुटेका थिए, त्यहाँ पनि त्यसरी नै धरानबासी श्रमदानमा जुटिरहेका छन् । त्यहाँ पनि गिटी कुट्ने, बालुवा बोक्ने, सिमेन्ट घोल्नेलगायतको काम धमाधम भइरहेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफू प्रत्येक शनिबार जनताकै काममा खटिरहने उद्घोष गर्दै पानीको स्रोत पहिल्याउँदै पानी ल्याउने अभियानमा छन् । शनिबार निशानेमा पानीको स्रोत पहिल्याएपछि उनले आइतबार उद्घाटन गरेपछि अहिले धरानबासीले त्यहाँ जनश्रमदान गरिरहेका छन् ।
अहिले निशाने खोलामा ‘वाटर फिल्टर इन्टेक’ बनिरहेको छ । त्यहाँ इन्टेकसँगै केहीतल रिजर्भ वेयर निर्माण हुनेछ । धरान–४ का कुशल गुरुङ घलेले पकुवामा श्रमदान नगरेपनि यहाँ भने श्रमदान गर्न आइपुगेको बताए ।
प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले शुरुमा ‘वाटर फिल्टर इन्टेक’ बनाइने र केही तल करिब दुई लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की बनाइने जानकारी दिए । ‘निशाने खोलाको पानीलाई रिजर्भ ट्याङ्की बनाएर २ लाख लिटर क्षमताको रिजर्भ वेयरमा सङकलित पानी नगरबासीलाई खुवाउने योजना हो ।’ उनले भने ।
मेयर साम्पाङले यहाँ वर्षायामको पानी संकलन गरेर राख्ने र हिउँदमा धरानबासीलाई पानी खुवाउने योजना रहेको जानकारी दिए । ‘खासमा अहिले वर्षायाममा बगेर गइरहेको पानीलाई व्यवस्थित गर्दै धरानबासीलाई पानीमा केही राहत पुरयाउने भन्ने हो ।’ उनी भन्छन् ।




