धरानः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार साँझ सुनसरीको इनरुवाबाट लौकहीतर्फ जाँदै गरेको बिआर ११ बी ८०१२ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै ना६३प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका–६ धनुषाका ३० वर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, बुधबार साँझ नै झापाको कमल गाउँपालिका-५ पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साइकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ वर्षीय सञ्जीव इम्सम लिम्बूलाई ठक्कर दिँदा लिम्बूको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।