धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयको गलत निर्देशनका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ का २ हजार बढि सर्बसाधारणको घरजग्गा रोक्का गरिएको छ । भुमाफियाहरुले हडपेको धरान–धनकुटा राजमार्गमा पर्ने सर्दु जलाधारको जग्गाको अनुसन्धान गर्ने क्रममा अख्तियारको गलत निर्देशनले निर्दोष सर्वसाधारणको घरजग्गा रोक्का गरिएको छ ।
विनाकारण घर जग्गा रोक्का गरिएपश्चात धरान–१३ का वासिन्दा आन्दोलित भएका छन् । उनीहरुले तत्काल रोक्का गरिएको घरजग्गा फुकुवा नगरिए अझै सशक्त आन्दोलन गर्ने समेत जनाएका छन् । उनीहरुले धरान उपमहानगरपालिका र मालपोत कार्यालयमा धर्ना समेत दिइसकेका छन् । जलाधार क्षेत्रमा नपर्ने जग्गाहरु फुकुवा हुनुपर्ने माग गर्दै उनीहरुले आइतबार मालपोत र उपमहानगरपालिकामा धर्ना दिएका हुन् । संघर्ष समितिका संयोजक हरि कार्कीका अनुसार पीडितहरुको माग र हालसम्मका गतिविधिहरु जानकारी गराउनको लागि धर्ना कार्यक्रम गरिएको हो । जलाधार क्षेत्रमा नपर्ने जग्गाहरु पनि रोक्का भएपछि अहिले वडा नं १३ र ४ का हजारभन्दा बढी घरपरिवार पीडित भएको समितिको दाबी छ ।
२०३३ सालमा तत्कालिन राजा वीरेन्द्र शाह पूर्वाञ्चलको भम्रणमा आएका बेला कोशी राजमार्गमा पर्ने भेडेटारमुनिको जमीनलाई सर्दु जलाधार घोषणा गरेका थिए । वीरेन्द्रले सर्दु जलाधारका २ सय ९ घरपरिवारलाई मोरङको बयरवनमा जग्गा सट्टभर्ना गरी सर्दु जलाधार घोषना गरी धरानमा खानेपानीको मुहान संरक्षण गर्न निर्देशन दिएका थिए ।
मालपोत कार्यालय सुनसरीले २ सय ९ घर परिवारले लिएको जग्गा सट्टाभर्नाको लागत कट्टा नगरेको मौका छोपेर भुमाफियाहरुले जलाधारको जग्गा मिलेमतोमा व्यक्तिको नाममा पारेका थिए । जलाधारको जग्गा बिक्री गरिएको विषयमा समाचार आएपछि तत्कालीन केपी ओलीको सरकारले सर्दु जलाधारको एकसय ८२ विघा जमिन सरकारको नामा फिर्ता ल्याएको छ ।

मालपोत कार्यालय धरानमा ज्ञापनपत्र बुझाउँदै । तस्वीरः लक्ष्मण थापा
अख्तियारले पनि सर्दु जलाधारको जग्गा बिक्रीमा संलग्न भूमाफियाहरुको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । अख्तियारले जलाधार हडप्नेविरुद्ध अनुसन्धान अगाडी बढाए पश्चात सुनसरीको साविक बाझगरा ९ को पुरै ब्लक र घोपा ७ को पुरै ब्लक (हाल धरान १३ र ४) को अधिकांस जग्गा रोक्का गर्न मालपोत कार्यालय धरानलाई आदेश दिएपश्चात धरान १३ का २ हजार बढी सर्बसाधारणको घरजग्गा रोक्का गरिएको संर्घष समितिका संयोजक हरि कार्कीले बताए । अख्तियारले जलाधार क्षेत्रमा नपर्ने जग्गा रोक्का गर्न निर्देशन दिएपश्चात निद्रोश जनताले आफ्नो घर जग्गा बिक्री गर्न नपाएको उनको गुनासो छ ।
विनाकारण आफ्नो घर जग्गा रोक्का गरिएको भन्दै धरान १३ का बासिन्दा सरकारविरुद्ध आन्दोलित भएका छन् । अख्तियारले जलाधारको नाममा जलाधार क्षेत्रमा नपर्ने सर्वसाधरणका घर जग्गा रोक्का गर्नु अत्यन्तै गैर जिम्मेवारी काम भएको अध्यक्ष कार्कीले आरोप लगाएका छन् ।
मालपोत कार्यालय धरानका प्रमुख राजकपुर चौलागाईले अख्तियारको निर्देशनअनुसार धरान–१३ मा पर्ने घरजग्गा रोक्का गरिएको बताए । धरान उपमहानगरपालिकाका वडा नम्बर १३ का वडाअध्यक्ष नेत्र काफ्लेले अख्तियार र पालपोत कार्यालयले सर्दु जलाधारको क्षेत्र अधिकारभित्र नपर्ने धरान १३ सयौं वर्षदेखि बसोवास गर्दै आएका सर्वसाधारणको घर जग्गा रोक्का गरेर अनावश्यक दुःख दिएको बताए । उनले अख्तियारको गलत निर्देशनका कारण निर्दोष सर्वसाधारणले अनावश्यक दुःख पाएको भन्दै जलाधारको क्षेत्रमा नपर्ने रोक्का राखिएका घरजग्गा फुकुवा गरी सहज बनाइदिन हुन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले धरानमा रोक्का गरिएका घरजग्गाको विषयमा अनुसन्धान भइरहेकाले थप कुरा भन्न नमिल्ने बताए ।
वीरेन्द्रको आदेशपश्चात सुनसरीको तत्कालिन बाझगरा, घोपा र विष्णुपादुकाका (हाल धरान उपमहानगरपालिका) वासिन्दालाई मोरङको बयरवनमा स्तान्तरण गरिएको थियो । जलाधार क्षेत्रका वासिन्दालाई जग्गा सट्टाभर्ना गरिए पश्चात जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।