धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान आइपुगेका छन् ।
उनी धरान आइपुग्नेवित्तिकै सिधै सर्दुखोलामा वृक्षारोपण कार्यक्रममा सहभागी भएका छन् । उनलाई धरानका मेयर हर्कराज साम्पाङ राई र उपमेयर अइन्द्रविक्रम बेघाले सर्दुखोलामा स्वागत गरेका थिए ।
उनीसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलगायतका नेताहरु पनि सहभागी थिए । अध्यक्ष प्रचण्डले सर्दुखोलास्थित बीपी पार्कनजिकै वृक्षारोपण गरेका थिए । उनले जनगायक जेबी टुहुरेको नाममा वृक्षारोपण गरेका थिए ।
कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनगायक जेवी टुहुरेको वार्षिक पुण्यतिथिका अवसरमा आयोजना हुने कार्यक्रम, पार्टी विशेषको काम साथै मेयर साम्पाङकै कामलाई सम्झिएर पनि धरान आइपुगेको धारणा राखे ।
मेयर, उपमेयरको खुलेरै तारिफ
धरान आइपुगेका उनले मेयर साम्पाङ र उमेयर बेघाको खुलेरै तारिफ गरे । उनले भने, ‘सिङ्गै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ’, उनले भने, ‘म के भन्न चाहन्छु भने हामी कम्युनिष्टले अझ भन्ने हो भने माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ, पार्टीका र देशका श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार आचरण र व्यवहारबाट प्रेरणा लिन आग्रह गर्दछु ।’
उनले मेयर साम्पाङलाई यस्तै काममा निरन्तर डटिरहन आग्रह समेत गरे । उनले धरानमा मेयर, उपमेयरको जोडीको मिलेको पाएको समेत बताए ।