धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले फरक क्षमता भएकाहरुलाई आफैंले खाना बनाएर खुवाएका छन् ।
धरान-१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रमा रहेका बालबालिका, वृद्धवृद्धाहरुलाई उनीहरुले खाना बनाएर खुवाएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । उनीहरुले एकछाक खाना, मासु, तरकारी, अचार बनाएर खुवाएको उनले जानकारी दिए ।
आगामी भाद्र २९ गते बाल दिवस परेको र सोही अवसरमा सुनाखरी बाल क्लबका बालबालिकाहरुले खाना बनाएर खुवाएको अध्यापक आनन सुब्बाले जानकारी दिए । ‘खासमा भाद्र २९ गते बाल दिवसका अवसरमा यस्तो कार्यक्रम आयोजना गर्ने भनेका थियौं तर बाल दिवसको दिन परीक्षा चल्ने हुनाले शुक्रबार नै यो कार्यक्रम तय भएको हो ।’
कार्यक्रममा बालबालिकाहरुले त्यहाँ रहेका बालबालिकाहरुलाई सहयोग पुगोस् भनेर पाठ्य सामग्री पनि वितरण गरिएको थियो । केन्द्रका अध्यक्ष भीम राईलाई सो सामग्री हस्तान्तरण गरिएको प्रिन्सिपल राईले जानकारी दिए ।
विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । ‘विद्यार्थीहरुलाई पढाइ लेखाइको अतिरिक्त विभिन्न सामाजिक कार्यमा समेत जिम्मेवारी बोध गराउने उद्देश्यले खाना खुवाउने साथै पाठ्य सामग्री गरिएको हो ।’ उनले भने ।








