धरानः धरानमा आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशसभाको चुनावका लागि स्वतन्त्रबाट तीनजना उठाउने निर्णय भएको छ ।
शुक्रबार बसेको स्वतन्त्र नागरिक समाजको बैठकले धरानका तीनजना प्रदेश र संघको चुनावका लागि उठाउने निर्णय भएको जनाइएको छ । विशेषतः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ नेतृत्वको समूहबाट तीनजना उठाउने निर्णय भएको हो ।
संघीय सांसदमा तर्क मगर, प्रदेश सांसदका लागि प्रदेश सभा क मा समिर तामाङ, प्रदेश सभा ख मा हेमचन्द्र राईको नाम सिफारिस भएको जनाइएको छ । भोलि (आइतबार) उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरिएको सिफारिसमा परेका उम्मेदवार तामाङले जानकारी दिए ।
धरान–१६ स्थित गणेशमान चोकमा बृहत उम्मेदवारी घोषणासभा राखिएको र त्यहाँ आफूहरुले गर्नसक्ने मात्रै एजेन्डा लिएर आउने उनले जानकारी दिए । ‘हामी ढाँट्दैनौं, भोलि हामी गर्न सक्नेमात्रै एजेन्डा लिएर उम्मेदवारी घोषणा गर्दछौं, उनले भने ।
संघीय सांसदमा सिफारिस परेका तर्कले धरानमा स्वतन्त्रको खोल ओढेर अन्य स्वतन्त्र आएको तर्क गरेका छन् । उनले आफूहरु नै असली स्वतन्त्र भएको बताए । ‘यहाँ विभिन्न पार्टीहरुले परिचालित गरेको स्वतन्त्र नामक नेताहरु आइरहेको छ, खबरदारी त्यस्तालाई जनताले चिन्नुहोस् ।’