धरानः धरानमा विद्यालय शैक्षिक सुधारका लागि स्थानीय सरकारसँग अन्तक्र्रिया कार्यक्रम आयोजना भएको छ ।
धरान-१२ स्थित पब्लिक हाइस्कुलले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, धरानका अधिकांश वडाध्यक्षहरुको उपस्थिति थियो ।
धरानमा खानेपानी, शिक्षा, स्वास्थ्य सुधार्ने एजेन्डा र घोषणापत्र लिएर प्रतिबद्धता जनाउँदै चुनाव जितेका मेयर साम्पाङले धरानमै पनि निजी स्कुल छाडेर सरकारी स्कुलमा विद्यार्थीको लर्को लागेको भन्दै तारिफ समेत गरेका छन् । ‘खुशी लाग्यो, अब पब्लिक स्कुलले धेरै उन्नति गरेको छ, निजी स्कुल छाडेर पब्लिकमा भर्ना गर्न पाए हुन्थ्यो भनेर अभिभावकमा जागृत गराउनु चानचाने कुरा होइन’, उनले थपे, ‘सङ्घर्ष देखिँदैन, सफलता मात्रै देखिन्छ, एउटा सत्य यो पनि हो, तपाईहरुले गर्नुभएको मिहिनेत र संघर्षलाई मचाहिँ अनुभूत गर्दछु ।’
उनले आफूले बालबालिकालाई श्रम सिकाउन लागिपरेको तर त्यसलाई गलत अर्थले बुझ्ने र आलोचना गर्नेहरु पनि बढेको बताए । ‘बालबालिकालाई श्रमशोषण गर्ने भनेर धेरैले गीत गाए’, उनले भने, ‘किताबमा मात्रै हुँदैन नि शिक्षा र संस्कार, भनौं विद्यार्थी किताबी किरोमात्रै बनाउनु हुँदैन, बालबालिकालाई श्रम सिकाउनुपर्छ अनि देश समृद्धितर्फ अघि बढ्छ ।’ मेयर साम्पाङले प्रत्येक विद्यालयले बालबालिकालाई आफ्नो संस्कार, संस्कृति सिकाउन भेषभुषामा जोड दिनुपर्ने समेत बताए । उनले प्रत्येक शुक्रबार आफू नेतृत्वको टिमले धरानमा लागूऔषधविरुद्धको अभियान समेत चलाइरहेको बताए ।
आफूले प्रधानाध्यापकलगायत शिक्षक, शिक्षिका बेलुका ६ बजेसम्म खट्नु, अभिभावक बोलाउँदा तुरुन्तै आउने कारणले पनि विद्यालय अघि बढेको पाएको मेयर साम्पाङले बताए । ‘कतिखेर ४ बज्छ र हिँडौं भन्ने भयो भने चाहिँ स्कुल बन्दैन भन्ने सन्देश यो स्कुलले दिएको छ’, उनले भने । उनले उपमहानगरपालिकाले अझै केही सहयोग गर्ने बचन समेत दिए ।
अधिकांश वडाध्यक्षहरुले धरानमा पनि सरकारी नमूना विद्यालय रहनु गौरवको विषय भएको बताएका थिए । उनीहरुले सबै वडाध्यक्षहरुको साथ र सहयोग रहिरहनुपर्ने पनि बताए । कार्यक्रममा धरान–१ वडाध्यक्ष यज्ञमणि आचार्य, धरान–२ का वडाध्यक्ष रमेश राई, धरान–४ का वडाध्यक्ष धनबहादुर राई, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बू, धरान–८ वडाध्यक्ष धनबहादुर राई, धरान–९ का वडाध्यक्ष रुपेश आचार्य, धरान–१० का वडाध्यक्ष विवेक राई, धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान–१३ वडाध्यक्ष नेत्रप्रसाद काफ्ले धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बू, धरान–२० पदमबहादुर लिम्बूलगायतको उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले आफूहरुले विद्यालय सुधार्न बिहान ६ बजे आएर बेलुका ६ बजेसम्म धाउने गरेको बताए । उनले पर्यटनको क्षेत्रमा पब्लिकले भूमिका खेलेको बताए । ‘यहाँ धेरैजना पब्लिक हाइस्कुल नमूना छ भनेर हेर्न आउँछन्, धरानमै बसेर, घुमेर फर्किन्छन्, त्यसकारण म भन्छु यहाँ पर्यटक त बढेका छन् नि ।’
सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै पब्लिक अघि बढेको उनले बताए । उनले विद्यार्थीका लागि ६० रुपैयाँमै खाना, तरकारी र अचार व्यवस्था गरिएको जानकारी दिए । उनले पब्लिकमा नमूना विज्ञान प्रयोगशाला, व्यवस्थित भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, नेपाली, अङ्ग्रेजी माध्यममा पठनपाठन, नमूना विद्यालय छनौट हुनु आदि कारणले पनि विद्यार्थीको लर्को लागेको बताए ।
उनले यस वर्षसम्ममा ३२ सय प्लस विद्यार्थीले पब्लिकमा अध्ययन गरिरहेको समेत जानकारी गराए । ‘आजसम्म पब्लिक हाइस्कुलमा विद्यार्थीको संख्या भन्नुपर्दा १६ सय प्लस नर्सरीदेखि कक्षा–१० सम्म र ११ र १२ मा १६ सय प्लस गरी ३२ सय प्लस विद्यार्थी अध्ययनरत् छन् ।’ उनले भने ।
प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाहले पब्लिकमा शिक्षक, कर्मचारीका छोराछोरीले समेत पढाइरहेको जानकारी दिए । ‘दावीका साथ भन्छु हाम्रा पनि छोराछोरी यहीँ पढाएका छौं ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले सबैको अथक प्रयासले विद्यालय अघि बढिरहेको जानकारी गराए ।


