धरानः धरानमा स्वतन्त्रका दुईजना उम्मेदवारले दलसँग एकता गरेका छन् ।
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टी र सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य (सांसद् पदमा उठेका कुमार कार्की र प्रदेशसभा क तर्फका स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठबीच चुनावी एकता गरेर अघि बढ्ने सहमति भएको हो ।
शुक्रबार धरानस्थित होटल स्टार पूर्वीमा जनमुक्ति पार्टीका संघीय परिषद अध्यक्ष केपी पालुङ्वा, श्रेष्ठ र कार्कीबीच एकखालको सहमति भएको हो । स्वतन्त्रमध्ये आफू फरक रहेको र सबै पक्षसँग सहमति र सहकार्यले अघि बढ्ने उम्मेदवार कार्कीले बताएका छन् । समानुपातिकतर्फ राष्ट्रिय जनमुक्ति पार्टीलाई सघाउने र प्रत्यक्षतर्फ आफूहरुलाई सघाउने गरी आफू आफूहरु सहकार्य गर्न सहमति गरेको उनले जानकारी दिए । पिछडिएको वर्गको मुक्तिको निम्ति कुनै पार्टी, व्यक्ति र मतदातासँग सहकार्य र सहमति गर्दै अघि बढ्दै जाने समेत उनले बताए ।
उनले स्वतन्त्रहरुको पनि एकता र यिनीहरुबीच पनि तालमेल हुनुपर्ने विचार राखे । ‘ठूला हैसियतका पार्टीले त एकता गर्दै अघि बढिरहेका छन्’, उनले भने, ‘प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट ११ जना उठेका छन्, सबैलाई आह्वान पनि गरेको छु, सबै मिलेर एउटालाई जिताऔं भनेर लागिपरेको छु, समन्वय समेत भइसकेको भोलि नै त्यसको लागि बैठक डाकिएको छ ।’
उनीहरुबीच ४ बुँदे सहमतिसमेत भएको छ । पार्टीका अध्यक्ष पालुङ्वा, स्वतन्त्र उम्मेदवार र निर्वाचन परिचालन कमिटीका संयोजक आइत लिम्बूबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको भएको छ । सहमतिमा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले सुनसरी क्षेत्र नम्बर १ संघीय उम्मेदवार कार्कीलाई चुनाव चिहन घण्टाघर र प्रदेशसभा ‘क’ तर्फका उम्मेदवार श्रेष्ठको चुनाव चिहन पानीको धारामा मतदान गर्ने, स्वतन्त्र उम्मेदवार कार्की र श्रेष्ठले राष्ट्रिय जनमुक्ति पार्टीका समानुपातिक उम्मेदवारको चुनाव चिहन घरमा मतदान गर्ने, चुनावी तालमेलका लागि अन्य उम्मेदवार तथा दलहरुलाई पनि आह्वान गर्ने र चुनावी अभियानमा कुनै पनि पार्टीको झण्डा प्रयोग नगरिने जनाइएको छ ।
मुलुकले जुन खालको काँचुली फेर्न नसकेको हुनाले आफूले परिवर्तनको पक्षमा माहौल सिर्जना गर्ने समेत उम्मेदवार कार्कीले बताए । उनले आफूहरुलाई एकपटक साथ दिन पनि आग्रह गरेका छन् । उनले भूमिहीनहरुले लालपुर्जा पाउनुपर्ने, महङ्गी नियन्त्रण हुनुपर्ने, नेपाल भ्रष्टाचारको अखडा बन्नु नहुने, संसदमा भएका भ्रष्टाचारलाई संसदीय व्यवस्थामार्फत् छानविन गरेर सार्वजनिक गर्दै राष्ट्रिय कोषमा राखिनुपर्ने, बेरोजगारीले रोजगार पाउनुपर्ने, भीभीआइपीको सेवा सुविधा खारेज भएर राष्ट्रियकरण गर्नुपर्ने मुद्दा उठाएको र त्यो मुद्दा सम्बोधन भए आफूहरु चुनावमा समेत नजाने बताएका छन् ।
‘म लोभले उठेको होइन’, उनले भने, ‘बाध्यताले हो, आज तपाईहरुमाझ एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने हामीले उठाएका मुद्दा सम्बोधन हुन्छ भने हामी अहिले पनि चुनावमा जाँदैनौं, अहिले पनि हाम्रो उम्मेदवारी फिर्ता गर्छौं, त्यो हिम्मत हामी राख्छौं, जनताको मुद्दामा हामीले पद साट्नुपर्छ भन्ने होइन ।’
