Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गर्मराएको राजनीति

हाम्रो कोशी आवाज
कार्तिक १ २०७९, मंगलबार
धरानमा गर्मराएको राजनीति

साँच्चै भन्ने हो भने को साँच्चैको स्वतन्त्र अनि दलको स्वतन्त्र त्यसको छिनोफानो जनताले नै गर्नेछन् । शक्ति र पदको लालसामा नागरिकको स्वतन्त्रप्रतिको झुकावलाई ‘क्यास’ गर्न खोजिरहेका अवसरवादीहरू हुन् ।

धरानः नेपाली जनताले वर्षौदेखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, लगायत नयाँ जन्मिएका दर्जनौं पार्टी देखिसके, हेरिसके । यसपटकको निर्वाचनमा पनि आ–आफ्नो साझा धारणासहित जनतासामु प्रस्तुत हुन थालेका छन् । विगत लामो समयदेखिको राजनीतिक विचार र मान्यतालाई भने यसअघिको चुनावले नै धेरै ठाउँ छर्लङ्ग पारिसकेको छ । प्रमुद दलहरूलाई नै यसअघिको चुनावी माहौलले चुनौती थपिसकेको छ । साँच्चै भन्ने हो भने यसपटकको प्रदेश र संघीय निर्वाचनमा पनि पुरानै अनुहार धेरै दोहोरिएका छन् । लामो समयसम्म राजनीति गर्ने र त्यसैलाई कमाइखाने भाँडो बनाउने र काम भने फिटिक्कै नगर्ने नेताहरुदेखि नै जनता रुष्ट बन्दै स्वतन्त्र रोज्ने गरेका हुन् ।
अहिले पनि स्वतन्त्रले केही गर्ने छाँट देखाएपछि यसपटक पनि जनताको भित्री चाहना स्वतन्त्रतर्फ नै छ तर पनि स्वतन्त्रताको नाममा दलकै उम्मेदवार स्वतन्त्र बन्दै आइरहँदा जनतामा ‘कन्फयुज’ हुनु स्वभाविक हो । अब लामो समयसम्म राजनीति गरेका, उमेरले वृद्ध भएकालाई होइन, सक्षम र योग्यरूपमा आएको विचारधारा, कुनै पनि राजनीतिक दलमा आबद्ध नभएर स्वतन्त्र रूपमा देश र जनताका लागि केही गर्छु भनेर आएका व्यक्तिहरूलाई नेपाली जनताले विश्वास गर्ने देखिन्छ । जनताको मनमा बस्न भाषणले होइन, जनताको दैनिक जनजीविकासँग सम्बन्धित पक्षहरूसँग रहेर काम गर्ने, जनताको समस्यालाई तुरुन्त समस्या समाधानमा केन्द्रित रहेर काम गर्ने मानिसहरूलाई जनताले पत्याएर मत दिन्छन् भन्ने कुरा अहिले पनि बुझ्न नसकेको आभाष भइरहेको छ । दलहरूका नेताहरुले मुलुक परिवर्तनका भाषण धेरै सुने, मुलुकलाई यो बनाउँछु, त्यो बनाउँछु भने तर, जनताले अहिलेसम्म आश्वासन मात्र पाएको सबैमा सर्वविदितै छ । नेपाललाई भ्रष्टाचारको खाडलमा लैजाने र युवाजति विदेश लैजाने नेताहरुलाई अब जनताले पत्याउँदैनन् । भन्ने नै हो भने यतिका वर्षसम्म आखिर के पाए त जनताले ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । देशभरमै उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको लागि २ हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् ।
स्वतन्त्रले नै ‘कन्फ्युज’ गराउँदै
बालेनले काठमाडौं र हर्क साम्पाङले धरानमा मेयर जितेसँगै स्वतन्त्रप्रतिको आकर्षण ह्वात्तै बढेको छ । स्वतन्त्रले पनि चुनाव जित्दो रहेछ भनेर होमिनेहरु बढे । बडे–बडेका पार्टी बनाउँछु भन्दै राजनीति सुरु गरेकाहरू पार्टी विघटन गरेर वा सम्बन्ध टुटाएर स्वतन्त्र बनेको घोषणा गरेकै हुन् । आफ्नो छुट्टै पेशा, व्यवसाय गरिरहेकाहरू या राजनीतिकै फेर समातेर आफ्नो पेशा व्यवसायमा फस्टाएका स्वतन्त्र उम्मेदवारी दिँदै आएका छन् । यो लहड मात्रै हो । त्यसको मूल्याङ्कन जनताले गर्ने र गराउनेछन् । साँच्चै भन्ने हो भने को साँच्चैको स्वतन्त्र अनि दलको स्वतन्त्र त्यसको छिनोफानो जनताले नै गर्नेछन् । कति ‘स्वतन्त्र’ कै नाममा पार्टी खोलेर राजनीति गरिरहेका छन् भने कतिपय स्वतन्त्रलाई संगठित गर्दै आफ्नो राजनीतिक ‘स्पेस’ तयार पार्ने क्रममा लागेका छन् । मेयर साम्पाङ पनि यसप्रति सहमति जनाउँछन् । भन्छन्– सबैले कन्फ्ज गराएर पो खत्तम बनाए त ।
धरानमा गर्मराएको राजनीति
धरानमा पनि प्रदेश र संघीय निर्वाचनले स्वतन्त्रको नाममा राजनीति गर्माएको छ । विकृत राजनीतिबाट वाक्कदिक्क भएका नागरिकले आफ्नो छनौटलाई यसपटक धरानमा पनि परिवर्तन रोजे । साँच्चै भन्ने हो भने धराने नागरिक परिवर्तन चाहन्छ । स्थानीय निर्वाचनमा वास्तविक स्वतन्त्रलाई मतदाताले जिताए । यसले निकै सकारात्मक सन्देश पनि दियो ।
सुनसरी १ मा एक लाख ४१ हजार ८७८ मतदाता छन् । तीमध्ये सबैभन्दा बढी धरानमा १ लाख ४ हजार छन् । बराहक्षेत्रमा २७ हजार ८६ र रामधुनीमा १० हजार ६७४ मतदाता छन् । यसपटक यिनै मतदाताले भोट हाल्दैछन् । मंसिर ४ को प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहमै केही आशावादी बन्दै नेकपा एमालेबाट विरत्तिएर आइपुगेका मनोजकुमार मेन्याङ्बो, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी अर्थात् सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो र नेकपा एमाले–जनता समाजवादी पार्टीका तर्फबाट अशोक राई प्रतिस्पर्धामा छन् । यस्तै, नेपाल बस्ती बसोबास संरक्षण समाजका केन्द्रीय अध्यक्ष रहेका कुमार कार्की पनि स्वतन्त्रबाटै नै भन्दै चुनावमा होमिएका छन् ।
उता मेयर साम्पाङकै टिमबाट तर्कराज मगरको पनि उम्मेदवारी छ । चुनावअघिसम्म मेयर साम्पाङजस्तै चर्चामा नआएको भएपनि उनले चुनावी माहौल बनाउँदै लगेका छन् । अशोक गठबन्धनबाट चुनाव लडेको भए जित्ने तर एमालेमा टाँसिएको भन्नेहरु बढेका छन् । यसकारण पनि मनोजले तुरुन्तै निर्णय लिएर बागीजस्तो बनेर स्वतन्त्रबाट उम्मेदवारी दिए । मनोजको धरानमा निकै राम्रो चर्चा छ तर एमालेका केहीले मात्रै भोट हाल्न सक्छन् । कांग्रेसले पनि भोट हाल्छन् भनेर उठेका उनले भोट नपाउन सक्छन् । यो ‘कन्फर्म’ हो, कांग्रेसले एमालेलाई कहिल्यै भोट हाल्दैन । कुमारलाई सुकुम्बासीले सहजै भोट हाल्न सक्छन् । बरु उनले धेरै मत ल्याउँछन् । मुक्सामहाङलाई स्थानीय तहदेखि नै रुष्ट कांग्रेसले भोट नहाल्ने सम्भावना रहन्छ । यस्तै, कांग्रेसले माओवादीलाई जिताउँदैन भन्ने हल्ला सर्वत्र छ ।
यस्तै, सुनसरी १ मा पर्ने धरान उपमहानगरपालिकामा एमाले र कांग्रेसको संगठन बलियो छ । तर दुवै दलको उम्मेदवार नहँुदा स्वतन्त्रले नै ‘सरप्राइज’ दिन सक्छन् । अधिकांश एमालेको मतले जितेका साम्पाङले यसपटक पनि सरप्राइज दिन सक्छन् । कारण हो– यसपटक कांग्रेसको मत साम्पाङतिर आउन सक्छ । मेयर साम्पाङको काम, इमान्दारिता, प्रष्ट बोली र भिजन देखेर उनीप्रतिको सहानभूति दिने पार्टीकै नेता–कार्यकर्ता पनि छन् ।
धरानको पहिलो पहिचान लाहुरेसँग जोडिन्छ । लाहुरेले धरानको विकासमा योगदान दिएका छन् । लाहुरेहरुले नै अहिले मेयर साम्पाङको विकास, निर्माणमा सहयोग गरिरहेका छन् । ताकि धरानको निशानेमा ट्याङ्की निर्माणमा लाहुरेको समूह गोर्खा पिस फाउन्डेशनले निर्माण गरिरहेको छ ।
निष्कर्ष
दलका नाम र झण्डा फरक फरक भए पनि सीमित नेताले आलोपालो शासन–सत्ता चलाइरहेका छन् । यो कुरा धराने जनताले पनि बुझेकै हुनुपर्दछ । धरानमा स्वतन्त्रलाई जनताले पत्याएका छन् । यतिबेला बालेन र हर्कको जितलाई हेर्दै राजनीतिक दल छाडेर उम्मेद्वार घोषणा गर्नेहरू कुनै पनि दृष्टिकोणबाट स्वतन्त्र होइनन् । केही अपवादलाई छाडेर शक्ति र पदको लालसामा नागरिकको स्वतन्त्रप्रतिको झुकावलाई ‘क्यास’ गर्न खोजिरहेका अवसरवादीहरू हुन् । अहिलेको अवस्थामा आफ्नो प्रसिद्धिलाई प्रयोग गरी दलहरूको अराजकताले वाक्कदिक्क भएको जनमत बटुलेर निर्वाचन जित्न चाहनेहरूको जत्था ठूलो छ । दल बनाउने भनेर लागिपर्ने तर नागरिकको स्वतन्त्रमा आकर्षण देख्नेबित्तिकै दल छाडेर स्वतन्त्र बन्नेहरू हिजोका दिनमा स्वतन्त्रबाट निर्वाचित भएर सत्तालाई अस्थिर बनाउने भन्दा कुनै अर्थमा फरक स्वभाव र चरित्रका छैनन् र हुँदैनन् । साँच्चै भन्ने हो भने यसपटक पनि धरानमा स्वतन्त्रले नै ‘सरप्राइज’ दिन सक्छन् । यतिका वर्षसम्म धराने जनताले दलहरुलाई भोट हाल्दा नागरिकले के पाए भन्ने खरो प्रश्न छँदैछ ।
देशभरकै कुरा गर्ने हो भने २०४८ सालमै चुनाव जितेका तीन दर्जन अनुहार अहिले पनि उम्मेदवार छन् । २०४८ सालयता ६ वटा संसदीय चुनाव भइसकेका छन् । आगामी मंसिर ४ मा सातौं निर्वाचन हुने तयारी छ । ३१ वर्षयताका यी सात चुनावमा करिब तीन दर्जन प्रतिस्पर्धी अनुहारहरू भने उनै छन् । कतिपय पात्रहरुले त लगातार चुनाव पनि जितिसकेका छन् । लगातार निर्वाचन जितेर पनि नथाक्ने नेताहरुलाई फेरि पनि भोट दिनु अहिलेको बाध्यताजस्तै भएको छ । निर्वाचनमा जसले जिते, उनीहरुले हालसम्म के के गरे भनेर अहिले जनताले मूल्याङ्कन गर्ने बेला आइसकेको छ । कतिपटक संसदमा कसले जिते र जनताको लागि ती जितेका नेताहरुले के काम गरे अबको मूल्याङ्कन जनताले गर्नुपर्दछ ।

प्रकाशित मिति: कार्तिक १ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend