Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङको समूह चुनावमा होमियो

हाम्रो कोशी आवाज
कार्तिक १७ २०७९, बिहिबार
धरानका मेयर हर्क साम्पाङको समूह चुनावमा होमियो

धरानः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार बनेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको समूहका उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि सुनसरी क्षेत्र नं. १ बाट तर्कबहादुर मगर, प्रदेशसभा क बाट समिर तामाङ र प्रदेशसभा ख बाट हेमचन्द्र राई उम्मेदवार छन् ।
उनीहरु बिहीबारदेखि घरदैलो अभियानमा लागेका हुन् । धरान–१८ स्थित समूहको कार्यालयबाट निस्किएका उनीहरुले धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति, विसङ्गति बढिरहेको भन्दै सांकेतिकरुपमा त्यहाँबाटै घरदैलो अभियान थालिएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार तर्कबहादुर मगरले जानकारी दिए ।
प्रदेशसभा क का उम्मेदवार समिरका अनुसार एक टोली बराहक्षेत्रसम्म पुगेर चुनाव प्रचारप्रसार थालेको छ भने एक टोली धरान–१९ बाट घरदैलो अभियानमा जुटेको छ ।
प्रदेशसभा ख का उम्मेदवार हेमचन्द्रले सकेसम्म घरघर, टोलटोल पुगेर आफूहरुको अभियान जोडतोडले अघि बढाइने र अहिलेसम्म दलहरुले गरेका नराम्रा कामहरुको भण्डाफोर अभियान पनि चलाइने बताए । ‘उम्मेदवार बन्दादेखि नै हामीले निकै फरक शैलीमा कार्यक्रम गर्दै आएका छौं’, तर्कबहादुर मगरले भने, ‘अब पनि हामी फरक तरिकाले जनतालाई बुझाउँदै अघि बढ्नेछौं ।’ उनका अनुसार पार्टीबाट सरासर आउने र बागी बन्दै स्वतन्त्र बन्नेहरुको धरानमा लर्को लागेकोले आफूहरुले त्यसलाई पनि चिरेर अघि बढ्ने बताए ।
‘अहिले धरानमा पार्टीकै साथीहरु पनि स्वतन्त्रले चुनाव जित्ने छाँटे देखेपछि त्यसलाई ‘क्यास’ गर्न उम्मेदवार छन्, तिनीहरुलाई नक्कली स्वतन्त्र भनेर चिनौं, हामीलाई सक्कली स्वतन्त्र हो भनेर चिनौं ।’ उनले भने ।
केही समयअघि उनीहरु तीनैजनाले माटो उठाएर उम्मेदवारी घोषणा गरेका थिए । माटो उठाइसकेपछि सांसदका उम्मेदवार तर्कबहादुरले घोषणा गरेका थिए– यो देशको माटो र जनताको सपथ खाएर तीनैजनाको तर्फबाट भन्दछु–म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ।
उनीहरुले गर्न सक्नेमात्रै घोषणापत्र ल्याइएको बताएका छन् । ‘हामीले विशेषतः आफूहरुले गर्न सक्ने, जनता नझुक्याउने, विश्वास गर्न सक्ने घोषणापत्र ल्याएका छौं’, तर्कबहादुरले भने ।
घोषणापत्रमा मेयर साम्पाङलाई सफल बनाउन र उनले गरेका विकासका गतिविधिमा विज्ञको सल्लाह सुझाव लिई नागरिकको हकहितको लागि नतिजामुखी कार्य गर्ने जनाइएको छ भने धरानलगायत सुनसरी क्षेत्र नं. १ को स्थानीय निकायहरुमा खनेपानी र सिंचाइको समस्या समाधानको लागि दीर्घकालीन व्यवस्थापन गर्ने जनाइएको छ ।
यस्तै, स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयत प्रतिस्थापन तथा आत्मनिर्भर, कृषिको लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने, गरिब तथा भूमिहीन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा तथा भूमि व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पूर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागू गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति बनाउने घोषणापत्रमा उल्लेख छ ।
विभिन्न जातजातिका सांस्कृतिक नाच तथा झाँकीहरुलाई विश्व सम्पदा सूची (युनेस्को) मा सूचीकृत गर्ने र संरक्षण प्बन्ध गर्ने र सो सम्बन्धमा पर्यटन प्रवद्र्धन गर्ने, सुनसरी जिल्लाका सबै स्थानीय निकायहरु जोड्ने रिङरोड, सडकहरुमध्ये क्षेत्र नं. १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका सडकहरुको स्तरोन्नति, विष्णुपादुका, बराहक्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तरोन्नति र निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था, राष्ट्रियस्तरको गम्भीर मुद्दाहरुमा विज्ञ र नागरिकहरुसँग परामर्श गरी नागरिकको चाहना बमोजिम धारणा बनाएर सदनसम्म जनभावना पुरयाउने पनि घोषणापत्रमा राखिएको छ ।
प्रदेशसभाका क का उम्मेदवार तामाङले मेयर साम्पाङले यसअघि जे जे घोषणापत्रमा जारी गरेका थिए त्यो अक्षरस पालना गर्दै आएको र आफूहरुले ल्याएको घोषणापत्रअनुसारको काम अक्षरस नै पालना गर्ने बताए ।
प्रदेशसभा ख का उम्मेदवार राईले मङ्सिर ४ मा देश र जनताको लागि लागिपर्ने उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले सांसद विकास कोषको सीमित बजेट माथिको आदेशमा लागू हुने हुनाले आफूहरुले जिते जनतालाई सोधेर मात्रै बजेट निर्माण गर्ने बताए ।

प्रकाशित मिति: कार्तिक १७ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend