Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवा बेसार खेतीतर्फ लागे

हाम्रो कोशी आवाज
फाल्गुन १२ २०७९, शुक्रबार
युवा बेसार खेतीतर्फ लागे

झापा- कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन्। साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन्।
नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताए। कचनकवलसँग सीमा जोडिएको भद्रपुर-१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक एक लाख ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएर बेसार खेती थालेको उनले बताए।
पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भएको उनले बताए। ‘पहिलो वर्ष राम्रो उत्पादन भयो’, उनले भने, ‘यस पटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ।’
सुरुमा बजार अभाव हुँदा निकै समस्या भएको उनले तीतो अनुभव सुनाए। ‘बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाहरूले नलगेपछि कतिपय बेसार बिग्रियो’, उनले भने, ‘थोरबहुत सहकारीले बीउको लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।’
स्थानीय सामग्रीको प्रयोग गरेर ड्रमबाट बेसार प्रशोधन गर्ने उपकरण बनाएर बेसार प्रशोधन गरेको उनले बताए । काँचो बेसार नबिकेपछि साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालिएको छ भने बेसारको बीउ समेत बिक्री गर्ने गरिएको छ ।
बेसारको धुलो बनाएर करिब तीन हजार केजी बिक्री गरेको अर्का कृषक गोविन्द राजवंशीले बताए। बेसार खेतीबाट पहिलो उत्पादन गर्न १२ लाख रुपैयाँ खर्च भएको उनले बताए। खेतीमा अर्गानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ।
धुलो बेसार प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ। स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उनले बताए। ‘हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ताले अर्को पटक हामीकहाँ नै आउनुहुन्छ, राम्रो प्रतिक्रिया पाइरहेका छौं’, उनले भने, ‘थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अर्गानिक भएकाले स्वास्थ्यकर पनि छ।’
व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लाने गरेका छन्। भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ ।
भारतबाट व्यापारीले ल्याउने बेसार दुई सयदेखि दुई सय ५० मै बिक्री हुने भएकाले केही समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकहरूको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन्।
यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई सात लाख रुपैयाँसमेत अनुदान दिने भएको छ। बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। ‘बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो’, उनले भने, ‘यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।’
झापामा व्यावसायिक बेसार खेती खासै नभएको उनको भनाइ छ। ‘छिटपुटरूपमा कृषिकले खेती गर्दै आएका छन्’, उनले भने, ‘भारतबाट ठूलो परिमाणमा बेसार आयात हुने गरेको छ।’

प्रकाशित मिति: फाल्गुन १२ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend