विराटनगर: मोरङ बेलबारी नगरपालिका ९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत ५ वर्षयता उनी च्याउ उत्पादनमा लागेका हुन्।
विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख आम्दानीको लक्ष्य लिएका छन्।
३ वर्ष मलेसिया बस्दा कमाएको करिब १ लाख ५० हजार रूपैयाँ लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका हुन्। हाल कम्पनीमा १ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ।
३ कठ्ठा क्षेत्रफलमा ३ वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल ४ वटा पक्की घर बनिसकेका छन् भने थप ३ वटा बन्ने क्रममा छन्। च्याउ उत्पादन हुने पक्कि घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन्। एउटा घरमा १ हजार २ सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ।
वार्षिक ३ लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ। गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक ९ सय किलोसम्म उत्पादन भएको जानकारी दिए।
उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ। हाल थोकमा १ सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए। उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्याई सक्नुपर्ने र ७ बजे सम्ममा विराटनगर र धरानसम्म पुर्याई सक्नुपर्ने हुन्छ।
दैनिक रूपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्याउन समस्या हुन थालेपछि अब आफैं पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन्। उनले हाल फर्ममा स्थानीय ५ जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन्।
सुन्दरहरैंचाको गछियास्थित बहिनी ज्वाइँ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ।
सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरकेकोमा २ वर्षअघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएपछि उनी काठमाडौँस्थित च्याउको विउ उत्पादन गर्ने ल्याव सञ्चालन गरिरहेका छन्।
विवेक वोगटीले पनि सोही ल्यावबाट कन्ये जातको च्याउको विउ लिइरहेका छन्। २ वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले जानकारी दिए।
डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउँछन्।
‘वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर विराटचोकस्थित कृषि विकास वैंकमा पटक-पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे,’ उनले गुनासो गरे।