Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले किरात सभ्यतालाई लत्याएर ‘कोशी प्रदेश’ नाम राखिएको भन्दै गुनासो गरे

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७९, बिहिबार
पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले किरात सभ्यतालाई लत्याएर ‘कोशी प्रदेश’ नाम राखिएको भन्दै गुनासो गरे

प्रदेश १ को नाम बुधबार ‘कोशी प्रदेश’ राखिएपछि उनले यस्तो गुनासो गरेका हु्न्। एकीकृत समाजवादीका सचिवसमेत रहेका उनले जनता समाजवादीसँग मिलेर किरात-लिम्बुवान-सगरमाथा प्रदेश प्रस्ताव गरेका थिए। तर उनीहरुको प्रस्ताव बहुमतले अस्वीकृत भयो।

जातीय पहिचानसहितको माग उठाउँदै आएको माओवादी केन्द्रले समेत कोशी प्रदेशमा सहमति जनाएपछि यसको पक्षमा आन्दोलन गर्दै आएकाहरु अहिले जिल्लिएका छन्।

माओवादीले कुनै बेला लिम्बुवान र किरातसहित देशभर विभिन्न १० भन्दा धेरै जातीय पहिचानसहितका नाम प्रस्ताव गरेको थियो। तर अन्तिममा प्रदेश १ को नाम जुराउँदा पनि माओवादीले आफ्नो एजेन्डा स्थापित गर्न सकेन।

बरु एकीकृत समाजवादी र जसपाले पहिचानसहितको नाम राख्न प्रस्ताव गरे। राईले किरातलाई जात होइन सभ्यता हो भन्ने कुरा प्रदेश सांसदहरुले नै नबुझेको भन्दै दुखेसो गरेका छन्।

‘किरात जात होइन सभ्यता हो भन्ने यति सानो कुरा पनि नबुझी बहुपहिचानको विरोध गर्ने, त्यस नामको विपक्षमा मतदान गर्नेहरूप्रति दया र सहानुभूति देखाउन नै उचित होला’, उनले भनेका छन्, ‘यस्तो महत्वपूर्ण र चर्चामा आएको विषयमा उनीहरुको ज्ञान यति कमजोर भएकोमा मेरो सुझाव अलिक अध्ययन गरेर बुझेर धारणा बनाउनु-बोल्नु राम्रो।’

उनले किराती चाहिँ जात भएको तर्क गर्दै किरात सभ्यता भएको कुरामा कुनै द्विविधा नरहेको बताएका छन्।

‘किराती चाहिँ जात-वंश हो तर किरात जात होइन सभ्यता हो’, उनले भनेका छन्, ‘किरातीहरुले आरम्भ र आरम्भमा विकास गरेकाले यो सभ्यताको नाम किरात रह्यो जसरी कतिपय सिद्धान्त-आविष्कारको नाम फाउन्डरकै नामबाट रहे जस्तो, उदाहरणका रुपमा कार्लमार्क्सको दर्शन/सिद्धान्तको नाम मार्क्सबाद, लुइ पास्चरले पत्ता लाएको सिद्धान्तको नाम पास्चाराइजेसन सिद्धान्त, पाइथागोरसले पत्ता लाएको सिद्धान्तको नाम पाइथागोरस थेरम आदि  जस्तै किरातीहरुले आरम्भ गरेकाले सभ्यताको नाम किरात सभ्यता हो।’\

उनले नेपालसहित सबै दक्षिण एसियका देशहरुमा मानिसको उत्पति नभएको बताउँदै कुनै न कुनै युगमा बाहिरबाट आएको उल्लेख गरेका छन्।

‘यो देश र दक्षिण एशिया मानिसहरु उत्पत्ति भएको भूमि होइन, यो देशमा सबै जातका मानिसहरु विभिन्न समयमा बाहिरबाट आए र  खास जातका मानिसहरु लामो समय खास ठाउँ-क्षेत्रमा बसोबास गरेर पसिना र रगत मात्र होइन जीवनको समेत बलिदान गरेर सभ्यताको निर्माण गरे अथवा जनयुद्ध, जनक्रान्ति, जन आन्दोलनमा धेरै गुणा बलिदान गरेर सभ्यताको निर्माण गरेर  निर्माण गरे, एक हिसाबले मानिसको अस्तित्व  बचाए’, उनले भने, ‘त्यसो भएकोले जुन जुन क्षेत्रमा जुन जुन जात-वंशले त्यस्तो बलिदानको साथ सभ्यता निर्माणका गरे। तिनै सभ्यताको नाममा प्रदेशको नामाकरण गर्दा इतिहास, योगदान-बलिदानप्रति सम्मान र न्याय हुनेछ भनेर सभ्यताको नामबाट सातै प्रदेसको नाम राखौ भन्न खोजिएको हो।’

उनले उनले जात, सभ्यता, संस्कृति र ब्यक्तिको नामबाट समेत कति गाउँ, ठाउँ, स्थानीय तह, प्रदेशको नामाकरण भएको स्मरण गरे।

‘त्यसले केही बिग्रिएको छैन भने सभ्यताबाट प्रदेशको नाम राख्दा केही बिग्रने थिएन’, उनले भने,’बरु त्यस्तो माग गर्नेहरूको पनि चित्त बुझ्थ्यो र शान्ति, सन्तुष्टि हुनेथ्यो।’

प्रकाशित मिति: फाल्गुन १८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend