एम्स एकेडेमी प्रथम, पायो १० हजार
धरानः धरान–१ स्थित धरान मोडल कलेजले धरान उपमहानगरब्यापी अन्तर प्लस टु स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा धरान–१२ स्थित एम्स एकेडेमी प्रथम बन्न सफल भएको छ । एकेडेमीका रजनीष न्यौपाने, यशोदा श्रेष्ठ र मन्दिप लिम्बूको समूह प्रथम बनेको कलेजका प्रिन्सिपल प्रविन राईले जानकारी दिए ।
प्रतियोगितामा धरान–१२ स्थित पब्लिक हाइस्कुलका कन्चन खतिवडा, विवेक गौतम र अविनव निरौलाको समूह द्वितीय बन्न सफल भएको छ भने धरान–१६ स्थित चन्द्र संस्कृत माविका सुदीप घिमिरे, कृष्ण वस्ती र अनु सिंहको समूह तृतीय बन्न सफल भएको थियो ।
धरान–२० विष्णुपादुकास्थित भालढुङ्गा माविका निरज राई, मार्मेन्डो तामाङ र निराजन राईको समूहले सान्त्वना स्थान हात पारेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीको समूहलाई क्रमशः १० हजार, ६ हजार, ४ हजार, १५ सय र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
बिजेता विद्यार्थीलाई कलेजका सल्लाहकार डा. जीवन राई, कलेजका अध्यक्ष बद्री तामाङ, क्याम्पस प्रमुख प्रविन राई लगायतले पुरस्कार र प्रमाण–पत्र वितरण गरेका थिए । प्रारम्भिक चरणमा धरानभरिका १२ प्लस टु बीच प्रतिस्पर्धा गराएर उत्कृष्ट ६ समुह छनोट गरी अन्तिम प्रतिष्पर्धा गराइएको कलेजका बिएसडब्लु कोअर्डिनेटर विष्णु खनालले जानकारी दिए ।
विद्यार्थीहरुको बौद्धिक क्षमताको विकास गरी शिक्षा सेवा, बैंकिङ क्षेत्र, लोकसेवा आयोग जस्ता सरकारी सेवामा लाग्न उत्प्रेरित गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख प्रविन राईले जानकारी दिए । प्रतियोगिताको सञ्चालन कलेजका अध्यापक गौरव सन्ज्यालले गरेका थिए ।










