दिलकुमार लिम्बू
ताप्लेजुङः लामो समयसम्म नामाकरण हुन नसकेको प्रदेश १ को गत फागुन १७ गते प्रदेशसभाले दुई तिहाई बहुमतले कोशी प्रदेश पास गरेको छ । बहुमतले कोशी प्रदेश मतदान गरेसँगै लोमा समय नामबिहीन रहेको प्रदेशको नाम कोशी प्रदेश भएको छ । विगतदेखि नै पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित केही शक्तिहरु आन्दोलन गर्दै आएका छन् ।
नामकरणपछि कोशी प्रदेश सभाका सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन् । निरन्तर आन्दोलन चर्किदै गएपछि सांसदहरूलाई यतिबेला तनाव थपिएको छ । दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम ‘कोशी’ राखे पनि सांसदहरू भने आफ्नै निर्वाचन क्षेत्रमा जान सकेका छैनन् ।
कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्रबहादुर आङबोमाथि आक्रमणको प्रयास भयो । गत सोमबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका पूर्ण बैंठकमा सहभागी हुन आउँदै गर्दा आङबोमाथि आक्रमणको प्रयास भयो । आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड समेत गरेको थियो । आक्रमणका प्रयसा भएपछि कडा सुरक्षाकासाथ होटल माउन्टेन पुरयाइएको थियो । सदरमुकामभित्र पनि आङबोलाई कालो झन्डा देखाएको थियो । त्यस दिन होटल अन्नपूर्ण क्षेत्रमा कडा सुरक्षाको प्रबन्ध गरिएको थियो । होटल अन्नपूणमा माओवादी केन्द्रको जिल्ला समन्वयको बैठक थियो । होटल अन्नपूर्ण भित्र बैठक चलिरहदा सामाजिक सञ्जालमा ३० सेण्डको एउटा भिडियो क्लिप सार्वजनिक भयो । गाडी पछ्याउँदै गरेको एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा आङबोको ज्यान मार्ने धम्कीसमेत दिएको सुनिन्छ ।
गत चैत ६ गते सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमणको प्रयास भयो । प्रदेशको नाम कोशी खारेजीको माग राख्दै भएको आन्दोलनमाथि टिप्पणी गर्दै प्रदेशको पुनः नामकरणबारे कुनै छलफलसमेत हुन नसक्ने अभिव्यक्ति कार्कीले दिएपछि ओखलढुंगामा आक्रमणको प्रयास भएको थियो । कोशी नामको विरोधमा आन्दोलन गरिरहेका असन्तुष्ट पक्षले कोशी प्रशेका मुख्य मन्त्री हिक्मत कार्कीलाई आक्रमणको प्रयास भएको हो । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरूले कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेको थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थन भएकाले कोशी नामकरण परिवर्तन नहुने बताएका थिए । विराटनगरस्थित प्रदेशसभा, मुख्यमन्त्री कार्यालयअगाडि पुनः नामकरण गरी पहिचान कायम गर्नुपर्ने मागमा आन्दोलन चलिरहेको समयमा मुख्यमन्त्री कार्कीले नामकरणमा अब छलफल नहुने बताएका थिए ।
गत आइतबार विराटनगरमा विशाल प्रदर्शन भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा समेत जारी गरेको थियो । तर, उक्त निषेधाज्ञा तोडेर उनीहरूले प्रदर्शन गरे । जसकारण ढुंगामुढा भएको थियो भने प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो ।
मुख्यमन्त्री कार्की तथा माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोमाथि आक्रमणको प्रयास नै भएको थियो । जसका कारण प्रदेशसभा सदस्यहरू थप त्रासमा छन् । नामकरणपछि लगातार पहिचान पक्षधरहरूले विराटनगरमा आन्दोलन गरिरहेका छन् ।
कडा सुरक्षा हुँदा पनि आक्रमण प्रयास भएपछि अब शान्त नबनेसम्म प्रदेशको राजधानीभन्दा बाहिर जान नसकिने मन्त्रीहरू बताउँछन् । ‘अहिले राजधानीभन्दा बाहिर हुने कार्यक्रम रोक्न भन्न थालेका छौँ,’ एक मन्त्रीले भने, ‘झन्डावाल गाडी ता देख्नै नहुने अवस्था छ ।’
नामकरणपछि निर्वाचन क्षेत्रमा जान असहज बनेकाले विराटनगरमै बसिरहेको इलाम क्षेत्र २ (२) बाट निर्वाचित राम रानाले बताए । उनी कोशी प्रदेशको प्रस्तावक थिए । ऐतिहासिक काम गरे पनि पछिल्लो समय हुने गतिविधिले भने निर्वाचन क्षेत्रमा जान समस्या भएको सांसद रानाले बताउनुभयो । उहाँ विराटनगरमै कोठामा बसिरहेका छन् ।
आदिवासी जनजाति सांसदहरू थप आक्रोशित बनेका छन । मुख्यमन्त्रीको अभिव्यक्तिले पछि थप संशकित हुनुपरेको सांसदहरुको भनाइरहेको छ । ‘मुख्यमन्त्रीज्यूले नयाँ आउने सरकारलाई आन्दोलन थुपारेर जानु परयो भनेर बोल्नुभएको जस्तो छ,’ प्रदेशसभा सदस्य प्रदीप सुनुवारले भने, ‘सरकारले नै आन्दोलनको आगोमा घ्यु थप्न खोजे जस्तो छ ।’ जिल्लामै भए पनि कार्यक्रममा जाँदा भने सोच विचार गरेर मात्रै जानुपर्ने अवस्था भने आएको ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य खगेनसिङ हागामले बताए । पहिलाजस्तो नबुझी हिँड्न सक्ने अवस्था नरहेको उनले बताए ।
प्रदेशकै केही मन्त्रीहरूले गल्ती गरेको भन्दै माफी मागिसकेका छन् । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा जाँदा असर पुग्ने भएपछि उनले नाम परिवर्तन गर्न सकिने भन्दै सन्तुलित प्रतिक्रिया दिएका छन् । उनी सोलुखुम्बुका हुन् । इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बुलगायत जिल्लामा पहिचान पक्षधरहरूको बाहुल्य रहेको छ । फागुनमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘किरात(लिम्बुवान(सगरमाथा’ नाम प्रस्ताव गरेका थिए भने एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोशी प्रस्ताव गरेका थिए । नेकपा एस र जसपाले ल्याएको नाम दुई तिहाइले अस्वीकृत भएको थियो ।
प्रदेश सभाका ९३ सदस्यमध्ये कोशीको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो । नेकपा एस र जसपाका ५ सांसद थिए तर जसपाकी निर्मला मतदान गर्ने बेला बाहिर थिइन् । कोशी प्रदेश नामकरण भएसंगै आदिवासिजनजाती तथा पहिचानवादीहरु एक भएर कोशी प्रदेश खारेज गरेर पूनः पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले लोकतान्त्रिक व्यवस्थामा गरिने शान्तिपूर्ण विरोध र असहमतिप्रति सधैँ सम्मान रहने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘जोसँग सबैभन्दा बढी अपेक्षा विश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वाभाविकरुपमा लिएको छु । हामीले ल्याएको यो लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण रुपमा गरिने विरोध असहमति प्रति मेरो सधैँ सम्मान रहनेछ । धन्यवाद ।
आन्दोलनमा घाइते भएका एकजनाको मृत्यु
कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । धरान उपमहानगरपालिका १५ घर भएका लिम्बू लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थियो । लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो ।
पहिचानवादी दल र संस्थाहरुले गठन गरेको कोशी प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न र कोशी प्रदेशलाई पुनः नामकरण संयुक्त संघर्ष समितिले माग समेत गरेको छ ।
छानविन समिति गठन
शनिबार प्रधानमन्त्री तथा गृहमन्त्री स्तरको निर्णयबाट सरकारले एक छानविन समिति गठन गरेको छ । गहृमन्त्रलयको सचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ समितिको छानविन समिति गठन भएको गृहमन्त्रलयले जनाएको छ । समितिले सात दिनभित्र छानविनगरेर प्रतिवेशन पेश गर्ने गरि समिति गठन भएको मन्त्रालयले जनाएको छ ।
अन्दालन थप उग्र बन्दै
प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्टी समूहले विरोध गरिरहेको छ प्रदेशको राजधानी विराटनगर, झापा, सुनसरी, पाँचथर, ताप्लेजुङ लगायत विभिन्न स्थानमा आन्दोलन घोषणा गर्दै किरात प्रदेश नामाकरण हुनुपर्ने माग अघि सार्दै आन्दोलन भइरहेको छ । गत फागुन १७ गते प्रदेश नं १ को नाम कोशी प्रदेश नामकरण गरेको भन्दै सङ्घीय लिम्बुवान मुक्ति मोर्चा लिम्बुवान किरात याक्थुङ चुम्लुङ किरात सुनुवार लगायतले प्रदेशको नामको विषयमा विरोध गर्दै आएका छन् ।
गत फागुन १७ गते प्रदेशको नाम दुईतिहाइ भन्दा बढी संसद्को समर्थनमा कोशी प्रदेश नामकरण गरिएको थियो । ताप्लेजुङबाट निर्वाचित प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले कोशी प्रदेशको पक्षमा रहँदा अर्का प्रदेश संसद खगेन सिंह हाँगाम भने उपस्थिति जनाएनन ्। प्रदेशको नाम कोशी प्रदेश राखे यता ताप्लेजुङका प्रदेश संसद तथा कोशी प्रदेश खाने पानी मन्त्री मेन्याङ्बो गृह जिल्ला आएका छैन मन्त्री हुँदा जिल्ला धेरै आउने मेन्याङ्बो विराटनगरमै रहँदा मेन्याङ्बो माथि प्रश्न उठ्न थालेको छ ।
कसरी समाधान हुन्छ ?
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत फागुन १७ गते साँझ टुवीटरमार्फत आफ्नो धारण सार्वजनिक गरे । ‘परापूर्व कालदेखि नै किराककत र लिम्बुवान भनिएका क्षेत्रहरूलाई समेटेर बनाइएको १ नं प्रदेशलाई ऐतिहासिक र आदिवासी जनजातिहरूको पहिचान झल्कने गरी नाम दिन किन आपत्ति भएको होला ? भारतमा बंगाल, तामिलनाडु अनि अमेरिकामा अलाबामा, अरिजोना आदि २६ जातिका नाममा राख्न हुने नेपालमा नहुने किन रहेछ ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष वर्तमानं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कातिक ३० गते ताप्लेजुङको समदमुकाम फुङ्लिङको तोक्मे डाँडामा सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रदेश १ को नाम किराँत प्रदेश नामकरण गर्दा उपक्त हुने बताउनुएको थियो । त्यतिबेला उहाँले भन्नुभएको थियो“किराँत एक सभ्यता हो । किराँत सभ्यताका आधारमा प्रदेशको नामकरण हुदाँ उपयुक्त हुने छ ।”
नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई वार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ । माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताएका छन् । नाम राख्नु पर्ने बाध्यताका कारण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताएका छन् ।