Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

३२ लाख लिएर भागेका समातिए

हाम्रो कोशी आवाज
बैशाख २ २०८०, शनिबार
३२ लाख लिएर भागेका समातिए

धरानः ‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै बैना रकम लिएर भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७९ चैत ३० गते बिहीबार दिउँसो झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थितमा रहेको दुई कट्ठा जग्गा ‘सस्तोमा बिक्री भइरहेको छ, खरिद गर्न आउनू’ भन्दै बोलाएर रकम लिएपछि उनीहरू फरार भएका थिए ।
कमल गाउँपालिका ५ का ५२ वर्षीय विजय राईसहित चार जनाले मोरङको उर्लाबारी ४ का विष्णुमाया सापकोटालाई अर्जुनधारा ११ मा बोलाएर बैना कागजात समेत नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लिई फरार भएका थिए । उनीहरू पैसा लिएर भागेपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनी झापामा खबर गरेका थिए । त्यसलगतै अनारमनीबाट प्रहरी टोली खटिएको थियो । रकम लिएर फरार दुई जना इलामतर्फ गएको सूचना प्रहरीले पाएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरेर शुक्रबार इलामको पुरानो बसपार्कस्थित देउराली होटलबाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
रामेछापको देउराली गाउँपालिका २ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ घर भई काठमाडौं बस्ने ५२ वर्षीय जनक रेग्मीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १४ लाख ६५ हजार रुपैयाँ पनि बरामद गरेको छ। सोही घटनामा मोरङको बेलबारीका ६ घर भई झापा बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल र झापाको कमल गाउँपालिका ५ का ५२ वर्षीय विजय राईलाई अर्जुनधाराको थापा होटल एण्ड लजमा लुकेर बसेको अबस्थामा प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको छ ।
ठगीको योजना सुरूमा विजय राई र रणबहादुर पोख्रेलले बनाएका थिए । विजय राईले आफ्नै गाउँकी विष्णुमाया सापकोटालाई भेटी झापाको अर्जुनधारा नगरपालिका ११ स्थित नयाँबसपार्कमा २ कट्ठा जग्गा रहेको सुनाए ।
उनैले सस्तोमा जग्गा मिलाइदिने विष्णुमायालाई विश्वासमा पारे। विजयले जग्गा खरिद गर्ने मान्छे तयार भएपछि राजेश श्रेष्ठ र जनक रेग्मीलाई ‘जग्गा खरिद गर्ने मानिस आउँदैछन्’ भनि चैत २८ गते खबर गरे र उनीहरुलाई झापा बोलाएका थिए । विष्णुमायालाई सुरुमा ‘बैना गर्नुपर्छ’ भनेर ३२ लाख रुपैयाँ मागे। तर बैनाको कागजात नै नबनाई रकम लिएर फरार भएका थिए ।

प्रकाशित मिति: बैशाख २ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend