धरानः सुनसरीका दुई उपमहानगरपालिकाबीचको सीमा विवाद शुरु भएको छ । इटहरी र धरानको सीमा विवाद शुरु भएको हो । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद शुरु भएको हो ।
धरान उपमहानगरपालिकाले आफ्नो सीमा मिचेर ‘सीमा प्रारम्भ’ को बोर्ड लगाएको थियो । इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा आफ्नो इलाका परेको दाबी गर्दै धरानका मेयर हर्क साम्पाङले ‘सीमा प्रारम्भ’ को बोर्ड लगाउन निर्देशन दिएसँगै आइतबार बोर्ड लगाइएको हो ।
तरहराको पानीपिया सुरु हुनासाथै ‘स्थानीय सरकार, धरान उपमहानगरपालिका, सीमा प्रारम्भ’लेखिएको बोर्ड लगाइएको थियो ।
धरानले सीमा प्रारम्भ भनेर लेखिएको बोर्ड लेखिदिएपछि युवा संघ नेपालले त्यो उखेलेर फालिदिएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड युवा संघ इटहरीले उखेलेर फालिदिएको हो ।
आइतबारसाँझ धरान उपमहानगरपालिकाले सीमा प्रारम्भ भनेर गाडेको बोर्ड एमाले सम्बद्ध युवा संघमा आबद्ध युवाहरूले मध्यरातमा उखेलेर इटहरी उपमहानगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन् । युवा संघका कमलजंग क्षेत्रीले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने विषयमा विवाद निकाल्ने काम भएको बताए ।
धरान उपमहानगरपालिकाले दाबी गरेको क्षेत्र इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा पर्छ । इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद रहेको थियो । विवादका बीच सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना निर्धारण गरेको भनेर दुवै पालिकाले मान्दै आएका थिए ।
मेयर साम्पाङले भने बोर्ड निकाल्न नहुने बताएका छन् । उनले भनेका छन्–धरानले आफ्नो साँध सिमाना सुनिश्चित गर्दा युवा संघ तरहराले बोर्ड निकाल्नुपर्ने किन र कुन हैसियतले त्यो गरेको हो ? अब कानुनी करवाही अघि बढ्छ !
धरानले आफ्नो साँध सिनामा सुनिश्चित गर्दा इटहरीको युवा संघले धरानको सिमाना बोर्ड उखेल्छ ! धरानको युवा संघले चाहिँ के उखेल्छ होला ? कि सिमाना सुनिश्चित गर्दैन धराने युवा संघले चाहिँ ? सीमा बोर्ड राखेपछि साम्पाङले आफ्नो फेसबुक वालमा आफूहरूले कसैको सीमा नमिचेको जिकिर गरेका थिए । इटहरी र धरान छुट्टाउने सीमानाबारे लामाे समयदेखि विवाद रहँदै आएकाे छ । २०७५ सालमा तत्कालीन धरान र इटहरीका जनप्रतिनिधिबीच सीमा विवादबारे संवाद भए पनि कुनै निचाेड निस्केकाे थिएन ।


