Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका विद्यार्थी लुकेको प्रतिभा देखाउँदै, प्रत्येक शुक्रबार र शनिबार शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप (भिडियोसहित)

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
धरानको विष्णु स्कुलका विद्यार्थी लुकेको प्रतिभा देखाउँदै, प्रत्येक शुक्रबार र शनिबार शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप (भिडियोसहित)

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलले थप शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै गएको पाइएको छ । शुक्रबार दिउँसो विद्यालय परिसर पुग्दा स्कुलका विद्यार्थी कोही नाचिरहेका थिए भने कोही गीत गाइरहेका थिए । यस्तै, अधिकांशजसो विद्यार्थी बास्केटबल, कराँते, क्रिकेट, टेबलटेनिसमा पनि रमाइरहेको पाइयो ।
स्कुलमा नानीहरूलाई किताबी ज्ञान साथै अतिरिक्त क्रियाकलाप कक्षा नै सञ्चालन भइरहेको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । प्रत्येक शुक्रबार र शनिबार अतिरिक्त क्रियाकलाप गराउने गरिएको उनले जानकारी दिए । माध्यमिक तहका कोअर्डिनेटर शम्भु रेग्मीले फुटबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस, कराँते, नृत्य, गायन, चित्रकलालगायतका विधाको कक्षा नै सञ्चालन गरिँदै आएको जानकारी दिए । ‘प्रतिभा देखाउन चाहने विद्यार्थीका लागि हामीले पहिल्यै जानकारी दिँदै आएको छौं, त्यसमा जो जुन विधामा रुचि राख्छन्, सोही विधामा हामी निःशुल्क अतिरिक्त क्रियाकलाप गराइरहेका छौं ।’ उनका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म र शनिबार बिहान ७ बजेदेखि ९ बजे र बेलुका साढे ३ देखि साढे ५ बजेसम्म यस्ता क्रियाकलाप गर्दै आएको छ ।
कक्षा–६ की एञ्जल लिम्बूले पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिने गर्दा आफ्नो प्रतिभा प्रष्फुटन हुन पाएको महसुस गरेको बताइन् । कक्षा–६ कै युमा राई, जेनी राई र अविना मगरले पनि आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसर विद्यालयले प्रदान गरेकोमा खुशी व्यक्त गरिन् ।
‘विभिन्न थरी अतिरिक्त क्रियाकलापले बालबालिकामा सर्वाङ्गीण विकास हुन्छ भन्ने विद्यालयले पहिलादेखि नै बुझ्दै आएको छ’, प्रिन्सिपल श्रेष्ठले थपे, ‘बालबालिका खेल्न, नाच्न, गाउनलगायतका बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलाप गर्न मन पराउँछन् । यस्ता क्रियाकलापले बालबालिकाको चौतर्फी विकासमा जोड दिएको हुन्छ भन्ने विद्यालयले बुझेको हुनाले बालबालिका पनि पढाइसँगै रमाएका छन् ।’
उनका अनुसार खेलले बालबालिकालाई नियम पालना गर्ने, समाजमा धेरै जनासँग मिलेर बस्ने, अरूलाई पालो दिने, आफ्नो पालोका लागि धैर्य गर्ने कुरा सिकाउँछ भने नाचगानले बालबालिकाको बालापन झल्काउँछ । यसले उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिन्छ ।
स्कुलका अध्यक्ष वेनिन्द्र कटुवालले विद्यालयले किताबी ज्ञानसँगै बालबालिकाको मनोविज्ञान बुझेर अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको बताए । ‘शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप जरुरी छ भन्ने विद्यालयले पहिलादेखि नै बुझेको हो, त्यसैले पनि अहिले हाम्रा नानीहरुले पढाइमा जति अब्बल छन्, त्यति नै अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिँदै अब्बल सावित हुँदै गएका छन्, यो गर्वको कुरा हो ।’ उनका अनुसार बालबालिकाहरुले प्रतियोगितात्मक कार्यक्रममा भाग लिएर विभिन्न पुरस्कारहरु बटुलिरहेकोले पनि गौरव गर्ने ठाउँ रहेको बताए । ‘सैद्धान्तिकरूपमा सिकेका ज्ञानलाई व्यावहारिकरूपमा परिणत गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘अभिनय र नाचगानका माध्यमबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने हुन्छ, बालबालिकाको संवेगात्मक विकास हुन्छ ।’
बालबालिकाको क्षमताका आधारमा शिक्षा दिने प्रणालीका कारण विष्णुमा बालबालिका थप सिर्जनशील बन्दै गएको उनले बताए । उनले प्रत्येक महिना बालबालिकाको प्रतिभा बाहिर ल्याउन पत्रिका समेत प्रकाशित गर्ने तयारी भइरहेको समेत बताए । ‘बालमैत्री शिक्षण सिकाइमा हाम्रो जोड हो’, उनी भन्छन्, ‘गुणस्तरीय शिक्षाका लागि अतिरिक्त क्रियाकलाप निकै महत्वपूर्ण छ ।’
अन्त्यमा विद्यार्थी, अभिभावकले पनि अतिरिक्त क्रियाकलापमा फुर्सदको समयमा ध्यान दिन आवश्यक भइसकेको छ । यसको महत्व व्यवहारिक छ यसले विद्यार्थीलाई सीपयुक्त बनाउन सघाउँछ ।

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend