Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वर्षासँगैको हिमपात भएपछि कृषक खुशी

हाम्रो कोशी आवाज
बैशाख २० २०८०, बुधबार
वर्षासँगैको हिमपात भएपछि कृषक खुशी

ताप्लेजुङ: ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मंगलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।
घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि हिमपात भएको छ । यस्तै, ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको वस्ती हो ।
यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।
हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

प्रकाशित मिति: बैशाख २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend