Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वाञ्चल विश्वविद्यालयमा सुविधासम्पन्न सभाहल बनाउने तयारी, राजनीतिक भागबण्डामा पदाधिकारी नियुक्त हुने परिपाटीको अन्त्य हुन सकेनः शिक्षामन्त्री राई

हाम्रो कोशी आवाज
बैशाख २२ २०८०, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयमा सुविधासम्पन्न सभाहल बनाउने तयारी, राजनीतिक भागबण्डामा पदाधिकारी नियुक्त हुने परिपाटीको अन्त्य हुन सकेनः शिक्षामन्त्री राई

सुनसरीः पूर्वाञ्चल विश्वविद्यालयमा सुविधासम्पन्न सभा हल बन्ने भएको छ ।
विश्वबिद्यालय परिसरमा बन्न लागेको सात सय ५० सिट क्षमताको सभा हलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नविल बैंकको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ ।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत सो सभाकक्ष बनाइदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनीतिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए ।
विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको मन्त्री राईको भनाइ छ । अन्य देशमा राजनीतिक ब्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई विस्तारै कम गर्दै लैजाने जानकारी दिए ।
आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारबालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए । अहिले पनि शिक्षाक्षेत्र सुधारका लागि कतिपय ऐन कानुन बन्न नसकेकाले आउदो अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए ।
विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धि हासिल गरेको आफूले पाएको उनले बताए । विश्वविद्यालयहरुले सधै अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव छ । उच्च शिक्षाको लागि विदेशीने प्रवृत्तिको अन्त्य गर्न विदेश उत्तम स्वदेश खत्तम भन्ने सोंचलाई बदल्न विश्वविद्यालयहरुले समय सापेक्ष गुणस्तरीय शिक्षाको ब्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । २३ वर्षदेखि शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउँदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताए ।
विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्शा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमती पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गरे । आगामी शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उनीहरूको भनाई छ ।
लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमती कुरेर बसेको विश्वविद्यालयले यसैवर्ष मात्र अनुमती पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरुको भनाई छ ।

प्रकाशित मिति: बैशाख २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend