विराटनगरः नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हुँदा न्युनतम पूर्वाधारका आवश्यकता पनि पूरा गर्न नसकिए यसबाट ठूलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
वडा प्रहरी कार्यालय विराटनगरको नव–निर्मित प्रहरी कार्यालय भवनको विधिवतरुपमा उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधिमैत्री बनाउने, विपद व्यवस्थापनका आवश्यक सामग्री उपलब्ध गराउनेलगायत प्रहरीको माध्यमबाट शान्ति–सुरक्षा र सु–शासनमा प्रभावकारी भूमिकाका लागि प्रहरीलाई चाहिने भौतिक पूर्वाधारदेखि विभिन्न प्रकारका सेवा सुविधाहरुको सम्बन्धमा आवश्यक सहयोग गरिने र हालसालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भएमा प्रहरी अस्पताललाई थप स्तरोन्नति गरी सुविधासम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले भौतिक पूर्वाधारबिना प्रहरीले गर्ने दैनिक कामकाजमा सेवा र सहजताको बातावरणको सृजना नहुँदा सर्वसाधारणलाई प्रत्यक्ष असर पुग्ने भएकोले निर्माण सम्पन्न भएको नवनिर्मित भवनका कारण अबका दिनहरुमा सर्वसाधारणले प्रहरीबाट लिने सेवामा सहजता आउनुका साथै प्रहरी कार्य क्षमतामा समेत अभिवृद्धि हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले स्वागत मन्तब्य राखेका थिए भने शहरी विकास कार्यालयका इन्जिनियर रुद्रनारायण मिश्रले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चार तला र ३४ कोठा भएको कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।