विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार निरोज बस्नेत र इलाका प्रहरी कार्यालय हलेसी, खोटाङमा कार्यरत प्रहरी सहायक हवल्दार भुवन खड्का बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउने प्रहरी सहायक हवल्दार बस्नेतले विराटनगरबाट विभिन्न किसिमका सुनचाँदीका गरगहनाहरु चोरी निकासी गरी भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए ।
यस्तै, खड्काले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले उनीहरुले गरेको उत्कृष्ट तथा प्रशंसनीय कार्यको उच्च मूल्याङकन गर्दै २०८० साल बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गर्दै हरेक महिना प्रदेश प्रहरी कार्यालय विराटनगरले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आइरहेको छ ।